नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देश जटिल र चुनौतीपूर्ण परिस्थितिमा रहेको बताए। उनले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको उल्लेख गर्दै सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न पनि अध्यक्ष दाहाललाई सचेत गराए।
'मैले सम्मानित पूर्वप्रधानमन्त्री र अहिलेको प्रमुख प्रतिपक्ष दलको नेता हुँदाहुँदै के भन्न खोजिरहेको छु भने भ्रष्टाचार मुक्त समाज निर्माण नभएसम्म सुशासन स्थापित हुन नसक्ने बताउनुभयो। भ्रष्टाचार नियन्त्रणको निम्ति एउटा निश्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न आग्रह गर्नुभयो,' उनले भने, 'भ्रष्टाचार निवारण गर्न मुखले ओठे भक्ति गरेर मात्रै होइन, अहिलेसम्म नेपालमा चर्चित भ्रष्टाचार, संसदमा उठेका पक्ष, विपक्षले उठेका भ्रष्टाचारको छानविन गर्न नेपाली जनताले चिनेको निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गरौँ।’
नेता केसीले सत्तामा पुगेकाहरूलाई जानिजानि भ्रम फैल्याएर बदनाम गर्न खोजिएको जिकिर गरे।
प्रकाशित: १९ पुस २०८१ १०:४५ शुक्रबार