प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
भण्डारी भेट्न ओली बिहीबार साँझ उनकै निवास बूढानीलकण्ठ पुगेका हुन्।
उनीहरूबीच करिब दुई घण्टा लामो छलफल भएको छ। भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको बताइएको छ।
पार्टी सदस्यता त्यागेर दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी पुन: सक्रिय राजनीतिमा फर्किने चर्चा छ। एमालेकै कतिपय नेताहरूले भण्डारी पुन: सक्रिय राजनीतिमा फर्किनुपर्ने बताइरहेका छन्।
यता ओलीले पनि पार्टीको नेतृत्व थप आफैँले गर्ने सङ्केत दिँदै आएका छन्। यद्यपि, एमालेमा नेतृत्वका लागि ७० वर्षे उमेरहद छ। कतिपयले ओलीले उक्त प्रावधान सच्याएर पनि अध्यक्ष बन्ने कसरत गरिरहेको बताइरहेका छन्।
त्यसो त यसअघि एक सन्दर्भमा ओलीले पोखरामा अझै बीस वर्ष पार्टीको नेतृत्वमा अरु नआए हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए।
यो पृष्ठभूमिमा भएको ओली र भण्डारीबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित: १८ पुस २०८१ १९:३३ बिहीबार