२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

रास्वपामा जैरूका तीन प्रस्ताव-०८४ सम्म सरकारमा नजाने,स्थानीय जनप्रतिनिधिलाई पार्टी पदबाट मुक्त गर्ने

रास्वपा केन्द्रीय सदस्य विजय जैरू।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुस १९, २० र २१ गतेका लागि केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ।

उक्त बैठकमा छलफलका लागि केन्द्रीय सदस्य विजय जैरूले तीन प्रस्तावहरू कार्यालयमा दर्ता गराएका छन्।

गत पुस १४ गते कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गरेर दर्ता गराएको प्रस्तावको दर्ता नं. ६९ रहेको छ।

जैरूले गरेका प्रस्तावहरूमा ०८४ अघि सरकारमा जाने कि नजानेबारे छलफल, स्थानीय तहलाई गैरदलीय बनाउनेगरी निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्नेबारे छलफल र गत उपनिर्वाचनमा कीर्तिपुरमा नदिइएको उम्मेदवारीबारे छलफल छन्।

जैरूले भनेका छन्, 'उपनिर्वाचनमा कीर्तिपुरजस्तो सम्भावित स्थानमा उम्मेदवारी नदिएको सम्बन्धमा सम्बन्धित जिम्मेवारी रहेकालाई सोधपुछ गर्ने ।'

केन्द्रीय सदस्य विजय जैरूका तीन प्रस्ताव।

गत गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा रास्वपाले ४४ स्थानमध्ये २७ मा मात्रै उम्मेदवारी दिएको थियो। त्यसमा पनि कीर्तिपुर नगरपालिका र त्यसकै दुईवटा वडामा उम्मेदवारी दिएको थिएन।

त्यसका बारेमा जैरूले प्रस्न उठाएका हुन्। उनले त्यहाँका पार्टीका जिम्मेवार नेताहरूलाई त्यसबारे सोधपुछ गर्नका लागि प्रस्ताव गरेका छन्।

यस्तै उनले पार्टीको नीति नै स्थानीय तह गैरदलीय भएको भन्दै रास्वपाबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पार्टीको सबै जिम्मेवारीबाट हटाउनुपर्ने प्रस्ताव गरेका छन्।

उसो त स्थानीय तहमा रास्वपाको एकजना मात्रै जनप्रतिनिधि छ। गत स्थानीय तह उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिएकी रोजिना श्रेष्ठ काठमाडौं १६ मा निर्वाचित बनेकी छन्। जैरूको प्रस्तावअनुसार श्रेष्ठ पार्टीको जिम्मेवारीबाट हट्नुपर्छ।

पछिल्लो स्थानीय तह निर्वाचन हुँदासम्म रास्वपा पार्टी गठन भइसकेको छैन। स्थानीय तह निर्वाचनपछि गठित रास्वपाले संसद्‌मा भने २० सिट जित्यो। यसर्थ, रास्वपाले 'फेस' गरेको पहिलो स्थानीय तह निर्वाचन गत मंसिर १६ को हो।

काठमाडौं १६ मा रास्वपाबाट निर्वाचित रोजिना श्रेष्ठ।

जैरूले ०८४ सम्म पार्टी सरकारमा नजाओस् भन्नेबारे प्रस्ताव गरेका छन्। त्यसबारे बृहत् छलफल हुनुपर्ने उनको माग छ।

यसबीचमा दुईपटक सरकारमा जाँदै बाहिरिँदै गरेको रास्वपामाथि त्यही विषयलाई लिएर धेरै प्रश्नहरू उठे। लहै-लहैमा सरकारमा जाने र अरु दलका मन्त्रीहरूभन्दा राम्रो काम गर्न नसक्ने भन्दै रास्वपाको यसबीचमा आलोचना भयो।

पार्टीबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनमा त पार्टीका शुभेच्छुकहरूले नै पार्टी सरकारमा जाँदा र केही गर्न नसक्दा पार्टीप्रतिको क्रेज घटेको बताएका थिए।

जैरूले यी तमाम विषयमा स्पष्ट रूपमा खुलेर छलफल गर्न माग गरेका छन्।

प्रकाशित: १७ पुस २०८१ १७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App