नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको केपी ओली नेतृत्वको सरकार असफल भएमा अराजकता निम्तिने जिकिर गरेका छन् । उनले ओली नेतृत्वको सरकार असफल हुने छुट नभएको बताए ।
‘अहिलेको सरकार असफल हुने छुट छैन र छिटो भन्दा छिटो काम गर्नुपर्ने अवस्था छ,’ नेता कोइरालाले मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीमा निर्वाचित प्रतिनिधिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘राजनीतिक स्थायित्वको निम्ति कांग्रेस र एमाले ठूला दल मिलेर सरकार बनाएकाले गर्दा निराशा जनतामा आशा ल्याउने काम गर्न ढिलाई गर्न हुँदैन ।’ उनले अहिलेको सरकारलाई सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम गर्न सुल्झाए ।
उनले स्थिरता नभएकाले गर्दा जनता निराश भएकाले गर्दा यसतर्फ गम्भीर हुनुपर्ने बताए । ‘जनतामा निराशा बढेकैले गर्दा बैंकमा पैसा बचत बढेको बढ्यै छ, रेमिटेन्स बढेको बढ्यै छ,’ नेता कोइरालाले भने ।
उनले अहिले दुई ठूला दल मिलेर सरकार बनाएता पनि आगामी २०८४ को निर्वाचनमा एमालेसँगै मुख्य प्रतिस्पर्धा हुने बताए । ‘अहिलेदेखि नै कांग्रेसबाट सरकारमा गएका मन्त्रीले सहकार्य गर्छन् । अरु नेताले प्रतिस्पर्धा गरेर अघि बढ्छौँ, निर्वाचनमा पनि त्यही क्रम रहन्छ,’ उनले भने ।
उनले लोकतन्त्रको पहरेदार सञ्चार माध्यमले आशा जगाउने किसिमका समाचारहरूलाई पनि प्राथमिकता दिन सुल्झाए । ‘अहिले चारैतिर निराशा रहेका बेला सानो भन्दा सानो भएपनि राम्रो कामलाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्छ,’ नेता कोइरालाले भने ।
सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले पत्रकारहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा एक ठाउँमा उभिएर काम गर्न सुल्झाए । एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीले गलत अफवाह फैलाएर चर्चित हुने व्यक्तिप्रति सचेत हुनुपर्ने बताइन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्काले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सबैलाई साथ दिन आग्रह गरे ।
कार्यक्रममा मंसिर २८ गते भएको नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत सुनसरीमा अध्यक्षमा विजयी सन्तोष काफ्लेसहितको कार्यसमिति, प्रदेश परिषद् सदस्य र संघीय परिषद् सदस्यलाई पदस्थापन गरिएको थियो ।
प्रकाशित: १६ पुस २०८१ १८:४५ मंगलबार





