नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पाँच वर्षसम्म कुनै पनि बहादुरले संसद् विघटन गर्न नसक्ने दाबी गरेका छन् । मेलमिलाप दिवसका अवसरमा मङ्गलवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले राजनीतिक प्रणाली स्थिर भइसकेको दाबी गर्दै यस्तो बताएका हुन् ।
‘राजनीतिक पद्धति स्थिर भइसक्यो । संसद् पाँच वर्षभित्र भङ्ग गर्न कुनै बहादुरले गर्न चाहेर अब भङ्ग हुँदैन,’ महामन्त्री शर्माले भने, ‘सम्मानित सर्वोच्च अदालतले संविधानको धारा ७६को उपधारा ५ को व्याख्या बमोजिम जबसम्म संसद्मा विकल्प हुन्छ, तबसम्म संसद् विघटन हुँदैन ।’
संसद् मात्रै पाँच वर्ष स्थिर हुने व्यवस्था नभई सरकार पनि पाँच वर्ष स्थिर हुने चाहिएको महामन्त्री शर्माले बताए । उनले भने, ‘ हामीलाई पाँच वर्ष स्थिर रहने संसद् मात्रै होइन, पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो । अबको मेलमिलापको बहस त्यहाँ हो ।’
प्रकाशित: १६ पुस २०८१ १७:४२ मंगलबार





