१९ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अवैध उत्खनन रोके कारबाही हुन्छ: पालिका अध्यक्ष माझी

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले अवैध उत्खनन रोक्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी माझीले ग्रामथान गाउँपालिका–२ मा भइरहेको अवैध उत्खनन रोक्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

माझीले भने, ‘अवैध उत्खनन रोक्नु हुँदैन । रोक्नेलाई कारबाही हुन्छ ।’ अध्यक्ष माझीले अवैध उत्खनन रोक्न प्रहरीलाई पत्राचार गरेको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरणसमेत सोधेका छन्। उनले आफू जनताले निर्वाचित गरेको जनप्रतिनिधि भएकाले जनताको माग अनुसार काम गर्ने बताए।

माझीले ग्रामथान गाउँपालिका –२ मा अवैध रुपमा भइरहेको माटो उत्खननबारे आफू नभएको वेलामा अनुगमन गरी सरसल्लाहसमेत नगरी अवैध रुपमा भइरहेको माटो उत्खनन रोक्न प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई पत्राचार गरेकाले स्पष्टीकरण सोधेको बताए। स्पष्टीकरणको हालसम्म जवाफ आइनसकेको र  जवाफ चित्तबुझ्दो नआए प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही प्रक्रिया अघि बढाउने माझीले बताए । उनले भने,‘स्पष्टीकरणको जवाफ आइसकेको छैन। जवाफ आएपछि कारबाहीबारे  टुंगो लाग्ने छ।’

अध्यक्ष माझीले जिल्ला समन्वय समितिले समेत गाउँपालिकाको अनुमति नलिई अवैध रुपमा भइरहेको माटो उत्खननका विषयमा अनुगमन गरेको प्रति आपत्ति जनाए । उनले जिल्ला समन्वय समितिले गाउँपालिकालाई आफ्नै शाखाजस्तो व्यवहार गरिरहेको आरोप लगाए । ग्रामथान गाउँपालिका–२ मा अवैध रुपमा भइरहेको माटो उत्खननको ग्रामथान गाउँपालिकाकी उपप्रमुख, वडा अध्यक्षहरू र कर्मचारीहरूको टोलिले अनुगमन गरेको थियो।

जनप्रतिनिधिहरूकै सल्लाहमा प्रमुख प्रशासकीय अधिकृत पौडेलले अवैध उत्खनन रोक्न प्रहरीलाई पत्राचार गरेको गाउँपालिकाकी उपाध्यक्ष गुणावती थारुले बताइन् । उनले भनिन् ‘हामीले अनुगमन गरेर अवैध रुपमा भइरहेको माटो उत्खनन रोक्न प्रहरीलाई पत्राचारका लागि प्रमुख प्रशासकीय अधिकृतलाई भनेका हौं ।’ अध्यक्ष माझी भर्खरै सम्पन्न स्थानीय तहको उप–निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन्। 

प्रकाशित: १६ पुस २०८१ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App