उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरलाई आधुनिक सहर बनाउन स्व. पिएल सिंहले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । स्व. सिंहको निधनको १३ औँ दिनको पुण्य तिथिका अवसरमा शनिवार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले स्व. सिंहलाई ‘कन्भिन्सिङ पावर मोडल’का रूपमा पनि लिन सकिने बताए ।
‘उहाँलाई सबैले फ्लाइङ मेयर भनेर चिन्दथे,’ उपप्रधानमन्त्री सिंहले भने, ‘काठमाडौं महानगरलाई प्रोग्राम ल्याउन, फाइनान्सिलय सपोर्ट गर्न धेरै काम गर्नुभयो ।’ सिंह मेयर हुँदा भारतीय प्रधानमन्त्रीलाई गरेको स्वागतले नेपाल भारत सम्बन्ध मजबुतमा नयाँ आयाम थपेको उनले बताए ।
‘उहाँको कन्भिन्सिङ पावरलाई मोडलको रूपमा हामी सबैले सिक्नुपर्छ । उहाँ नेताहरूको धेरै लोकप्रिय हुनुहुन्थ्यो । उहाँले पाएको अवसरलाई पूर्ण रूपमा सफल गर्नुभयो’, उपप्रधानमन्त्री सिंहले भने ।
स्वास्थ्य तथा जनासंख्या मन्त्री प्रदीप पौडेलले राजनीतिमा प्राप्त उपलब्धिलाई स्व. सिंहले राम्रोसँग नेतृत्व गरेको बताए । उनले भने, ‘अब राजनीतिमा कति प्राप्त हुन्छ त्यो एउटा विषय हो । प्राप्त भएको अवसरलाई कति सफलतापूर्वक निर्वाह गरिन्छ, त्यो सफलता हो भन्ने लाग्छ ।’
त्यसबाट हेर्दा पिएल सिंहले बेदाग भएर अवसरको सदुपयोग गरेको मन्त्री पौडेलले बताए ।
प्रकाशित: १३ पुस २०८१ १३:२९ शनिबार





