नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद संजय गौतमले समयमा पार्टीको महाधिवेशन हुनेमा शंका रहेको बताएका छन्।
नेपाली कांग्रेसको ‘सय दिने विशेष अभियान’ कार्यक्रम अन्तर्गत भूमिकास्थान नगरपालिकाको पालिकास्तरीय कार्यक्रममा बोल्दै गौतमले समयमा महाधिवेशन नभए कांग्रेसले लय पक्रन नसक्ने बताए।
समयमा पार्टीको महाधिवेशन हुनुपर्छ भन्ने आफूहरूको माग भएपनि समयावधि भित्रै महाधिवेशन हुने कुरामा आशंका रहेको बताए। वर्तमान नेतृत्वको कार्यशैली, आचरण र विगतको अभ्यास हेर्दा समयमा महाधिवेशन सम्पन्न नहुने दिशामा अग्रसर भइरहेको उनको भनाई रहेको थियो।
‘आगामी २०८४ को निर्वाचनमा कांग्रेसको पोजिशन कहाँ हुने भन्ने कुराको निर्धारण महाधिवेशन कहिले हुन्छ भन्ने कुरासँग जोडिएको छ’ गौतमले भने, ‘समयमै महाधिवेशन भएन भने पार्टीले ठुलो क्षति ब्यहोर्नु पर्छ।’
पार्टी सभापति जो भएपनि आफूहरूको चिन्ता समयमा आन्तरिक निर्वाचन हुनुपर्छ भन्ने रहेकोमा उनको जोड थियो। नेपाली कांग्रेस सम्मिलित सरकार सहि ढंगले प्रस्तुत हुन नसके देशले निकास पाउन नसक्ने भन्दै गौतमले दुई ठूला दलले जनतामा आशा जगाउने गरी काम गर्नुपर्नेमा उनकाे जाेड छ।
प्रकाशित: १२ पुस २०८१ २०:२८ शुक्रबार