१४ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

उदयपुरमा सुन्तला खेती र उत्पादन दुवै बढ्यो

लिमचुङबुङमा फलेको सुन्तला बजार पठाउन तयार गर्दै स्थानीय युवती। तस्बिर: महेश्वर/नागरिक

पछिल्ला केही वर्षयता उदयपुरमा सुन्तला खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। गाउँका अधिकांश युवाहरु विदेश पलायन भए पनि बाँकी रहेका कृषकले सुन्तलाजस्ता व्यवसायिक फलफुल खेती रोज्न थालेका छन्।

जिल्लाको समशितोष्ण हावापानी र हिमाली दृश्यले सुन्तला खेतीका लागि अनुकूल वातावरण बनाएको छ। रौतामाई, लिमचुङबुङ, र ताप्ली गाउँपालिकाका भूभागहरू सुन्तला खेतीका लागि विशेष उपयुक्त मानिन्छन्। यस्तै, कटारी नगरपालिकाका पहाडी वडाहरू तथा बेलका र चौदण्डीगढीका माथिल्लो भूभागमा पनि सुन्तला खेती हुँदै आएको छ।

तीन दशकअघिसम्म गाउँमा सुन्तला खेती सामान्य मात्रामा हुन्थ्यो। वैदेशिक रोजगारीको लहरले खेती घटाए पनि पछिल्लो पाँच वर्षयता कृषिमा पुनः चासो देखिएको छ। स्थानीय तह पुनर्संरचनापछि गाउँमै उपलब्ध कृषि सेवा, प्राविधिक परामर्श, र उपचार विधिले कृषकलाई खेतीतर्फ आकर्षित गरेको हो।

रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरका अनुसार विदेशिएका युवाका कारण गाउँको ठूलो भाग बाँझो रहे पनि बाँकी कृषकले सुन्तलाबाट राम्रो आम्दानी गरिरहेका छन्। लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले कृषि उद्यम गर्न चाहनेलाई सरकारले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताए।

लिमचुङबुङ गाउँपालिकाले तीन वर्षदेखि ‘अध्यक्ष कृषि परियोजना’ सञ्चालन गर्दै सुन्तलासहित विभिन्न फलफुलको व्यवसायिक खेतीमा जोड दिएको छ। कृषि जोन र कृषि ज्ञान केन्द्रले ५० प्रतिशतसम्म छुटमा उपकरण उपलब्ध गराउँदै कृषकलाई सहयोग गरिरहेका छन्।

कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र यादवका अनुसार यस वर्ष सुन्तला खेतीको क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ। गत वर्ष ६३० हेक्टरमा सुन्तला लगाइएकोमा यस वर्ष ६८० हेक्टरमा खेती भएको छ। उत्पादन प्रतिहेक्टर ७.१५ मेट्रिकटनबाट ९.५ मेट्रिकटनमा पुगेको छ।

यसैगरी, गत वर्ष ४,५०४.५ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो वर्ष ६,४८० मेट्रिकटन पुगेको यादवले जानकारी दिए। आगामी वर्ष उत्पादनमा थप वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ पुस २०८१ १९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App