११ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार ढल्ने चर्चा कति स्वाभाविक ?

गत असोज ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान सरकारको आयुबारे सटिक टिप्पणी गरे, 'शेरबहादुर देउवा रिसाएको दिन सरकार ढल्छ ।'

हुन पनि अवस्था त्यस्तै देखिन्छ । प्रधानमन्त्री नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भए पनि सरकारको जग सत्तारूढ गठबन्धन भने देउवाको "साइकोलोजी'मा निर्भर छ । र, देउवाको साइकोलीजी प्रधानमन्त्री ओलीको व्यवहारमा ।

प्रधानमन्त्री ओलीले कांग्रेसी मन्त्रीहरूबारे मन्त्रालयका सचिवहरूमार्फत 'क्रस रिपोर्टिङ' को व्यवस्था गरेका छन् भनिन्छ । यो हो भन्ने परपुष्टि कांग्रेसी मन्त्रीहरूको असन्तुष्टिले गर्छ । ओली नेतृत्वकै मन्त्रिपरिषद्‌मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बद्री पाण्डेले यसअघि कांग्रेसको बैठकमै प्रधानमन्त्रीबाट सम्मानजक व्यवहार नभएको बताएका थिए ।

अर्कोतर्फ असोज १०-१२ गतेको विपद्‌का बेला आफू नेपालमा नरहँदासमेत प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई मन्त्रिपरिषद्‌ बैठक राख्न दिएका थिएनन् । कांग्रेस नेता सिंह उपप्रधान एवम् सहरी विकासमन्त्री हुन् ।

के भनिन्छ भने देउवाको साइकोलोजीमा मूलत: यी दुई विषयले नकारात्मक प्रभाव पारेको छ ।

अर्कोतिर, बीआरआईका कारण कांग्रेस-एमालेबीच अविश्वास उत्पन्न भएको चर्चा सुरु भएको छ । प्रधानमन्त्री ओलीको दल एमाले ऋण नै भए पनि बीआरआई स्वीकार्नुपर्छ भन्ने लाइनमा छ भने कांग्रेस अनुदान भए मात्रै स्वीकार्ने पक्षमा अझै छँदैछ । अहिलेसम्म पनि यो ऋण हो कि अनुदान भन्ने छिनोफानो भइसकेको छैन । सम्झौताकर्ता प्रधानमन्त्री ओली नै भन्दैछन् कि बीआरआई ऋण पनि हुन सक्छ, अनुदान पनि हुनसक्छ ।

यी र यस्तै आन्तरिक कारणले गर्दा सत्ता हाँकिरहेका दलहरू कांग्रेस-एमालेबीच अविश्वास गएको देखिन्छ । यद्यपि, यो अविश्वासले ठूलै रूप लिइसकेको भने छैन ।

यसमा मुख्यगरी देउवाकै साइकोलोजीले प्रभाव पार्न सक्छ । पूर्वसहमतिअनुसार नै अझै डेढ वर्ष कुर्ने वा अर्को बाटो रोज्ने ! त्यसो त कांग्रेसको 'टेन्डेन्सी' चुनावी सरकारमा रहँदै आएको छ । जे होस्, बल देउवाको 'कोर्ट'मा छ ।

सरकारको आयु कति ?

सरकार कहिलेसम्म जाला भन्ने सन्दर्भमा धेरैले धेरै प्रकारले व्याख्या र विश्लेषण सुनाउने गरेका छन् । तर, धेरै कहाँनेर सहमत भएका छन् भने सरकार भनिए जसरी लामै समयचाहिँ  जाँदैन ।  

यहीबेला कांग्रेस-एमाले नेताहरू बिना प्रश्नका सरकार ढल्दै नढल्ने जवाफ दिइरहेका छन् । कांग्रेस नेताहरू शेखर कोइराला, मीन विश्वकर्मा, एमाले नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङलगायतले मात्रै होइन, स्वयम् प्रधानमन्त्री ओली र कांग्रेस सभपति देउवाले पनि त्यही दोहोर्‍यारइरहेका छन्- सरकार ढल्दैन ।

अझ प्रधानमन्त्री ओलीले त 'अबको डेढ वर्षपछि प्रधानमन्त्री पद देउवालाई दिन्छु' भनेर दर्जनौं पटक भनिसकेका छन् । प्रधानमन्त्रीदेखि सत्तारूढ दलका मुख्य नेताहरूले नै बिना प्रश्नका सरकार नढल्ने जवाफ दिइरहनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राजनीतिशास्त्री तथा विश्लेषक डा. लोकराज बरालको विश्लेषणलाई आधार मान्ने हो भने नेताहरूले यसरी बिना प्रश्नका जवाफ दोहोर्‍याइरहनुलाई 'भित्र केही गडबडी भइरहेको छ' भन्ने रूपमा बुझ्नुपर्दछ ।

यता माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका नेताहरू सरकार चाँडै ढल्न सक्ने बताइरहन्छन् । सोमबार मात्रै माओवादी केन्द्र सचिव देवेन्द्र पौडेलले वर्तमान सरकार सेटिङ नमिलेर ढल्ने दाबी गरे । त्यसअघि उनका अध्यक्ष पुष्पकमल दाहालले सरकार आफैँ कुहिएर झर्ने बताइरहन्थे । अझ उनले त कांग्रेस र माओवादी केन्द्रका बीचमा विभिन्न नेताहरूको तहमा संवाद हुने गरेको दाबी गरेका छन् ।

माधव नेपाल र पुष्पकमल दाहाल ।

'विभिन्न संवादका क्रममा उहाँ (कांग्रेस नेता) हरूलाई हामीले सरकारबारे के छ धारणा भनेर सोधेका छौँ । उहाँहरूले सोचेजसरी चलेको छैन भनेर भन्नुभएको छ । तर, सरकार ढाल्नु हाम्रो प्राथमिकता होइन । यद्यपि, कसरी चलिरहेको छ भन्ने कुरा प्रमुख प्रतिपक्ष भएको हुनाले पनि जानकारीमा राख्नुपर्छ,' उनले भने ।

एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती देवी राई पनि वर्तमान सरकार धेरै नटिक्ने बताउँछिन् । 'सरकार आफ्नै कारण ढल्दैछ । सरकार धेरै टिक्दैन,' उपाध्यक्ष राईले भनिन् ।

जे होस्, यावत् सन्दर्भहरूबाट यसमा भित्रभित्रै केही पाक्दैछ भन्ने बुझ्न कठिन छैन । यद्यपि, अहिल्यै केही भइहाल्ने सङ्केतहरू भने देखा परिसकेका छैनन् ।  

यसमा बाह्य 'फ्याक्टर्स' अझ शक्तिशाली देखिन्छन् । वर्तमान सरकारसँग भारत त्यति खुसी छैन । भारतले 'सफ्ट डिप्लोमेसी' देखाइरहेको छ । प्रधानमन्त्री ओलीलाई भ्रमणमा नबोलाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहाललाई बिहेको शुभकामना नै पठाए ।

यसअघि भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजू राण देउवालाई नै प्रधानमन्त्रीसरहको 'ट्रीट' दिएको भारतले दाहालकी नातिनी स्मिता दाहाललाई बिहेको शुभकामना दिएर 'म यता नजिक छु है' भन्ने सङ्केत दिइरहेको छ ।

उता अमेरिकामा जनवरी २० देखि कार्यकारीका रूपमा डोनाल्ड ट्रम्प आउँदैछन् । ट्रम्प ती नै राष्ट्रपति हुन्, जो भारतलाई निकट ल्याएर चीनसँग दूरी बढाउन चाहन्छन् । यसअघिको कार्यकालमा पनि उनले यसै गरेका थिए । यतिसम्म कि अहिले नियुक्त गरेका उनका सल्लाहकारहरू सबै चीन विरोधी छन् । नवनियुक्त उनका कतिपय सल्लाहकारलाई त चीनले प्रवेशमा रोक नै लगाएको छ ।  

फेरि नेपालमा सरकार परिवर्तनका बाह्य कारण प्राय: संयुक्त (भारत-अमेरिका) हुने गर्छ । यस्तोमा ट्रम्प आएर भारतसँग नजिक भइकन नेपालको सरकार परिवर्तनका लागि भूमिका खेल्न सक्छन् । निश्चितप्राय: हुन सक्छ, त्यसबेला एमाले सरकारबाहिरै रहन सक्छ ।

कांग्रेस हरेक हिसाबले अमेरिकासँग निकटको सम्बन्ध राख्दछ । यस्तो अवस्थामा सभापति देउवामाथि गठबन्धन परिवर्तनको दबाब पर्न सक्छ । भारतको 'रिडिङ' त यो सरकार फेरिनैपर्छ भन्ने नै हो भन्दा फरक नपर्ला ।

यसरी हेर्दा वर्तमान सरकारको आयु बढीमा २ महिना हुन सक्ने राजनीतिक विश्लेषक डम्बर खतिवडा बताउँछन् । 'यो सरकार २ महिनाभित्र ढल्न पनि सक्छ । यदि त्यसबेला केही भएन भने केही नहुन पनि सक्छ,' विश्लेषक खतिवडा भन्छन्, 'अबको सरकार परिवर्तनमा भूराजनीतिक कारण मुख्य बन्न सक्ने सम्भावना धेरै धेरै छ ।'

'एमाले बाहेकका दलहरूको गठबन्धन बन्न सक्छ'

एमाले बाहेकका दलहरूको सत्तारूढ गठबन्धन बन्ने सम्भावना कायमै रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । विश्लेषक डम्बर खतिवडाको नजरमा अझै एमाले र रास्वपा बाहेकका दलहरूको सत्तारूढ गठबन्धन बन्न सक्छ ।

'पहिले पनि त्यसखाले समीकरण बनेकै हो । अहिले पनि एमाले र रास्वपा बाहेकका दलहरूको समीकरण बन्न सक्छ । यो देउवाले चाहनेबित्तिकै बन्ने समीकरण हो,' विश्लेषक खतिवडा भन्छन् ।

अर्का राजनीतिक विश्लेषक हरि रोका भने वर्तमान सरकार तत्कालै केही हुने सम्भावना कम रहेको बताउँछन् । 'दुईवटा ठूला दलहरू सरकारमा छन् । ठगेर खान पाएकै छन् । ठगेर खानका लागि यही सही छ । यसपछि के होला र यो गठबन्धन,' विश्लेषक रोका भन्छन् ।

भूराजनीतिक रूपमा पनि यही सरकार 'कम्फर्टेबल' रहेको अर्थ्याइ विश्लेषक रोकाको छ । 'ओलीजीले मध्यरातमा रअ प्रमुखलाई भेटेकै हुन्, एमसीसी ल्याएकै छन्, बीआरआई ल्याउने कुरा गर्दै नै छन्, भारतलाई विभिन्न आयोजनाहरू दिलाउने काम गर्दै नै छन्, म्याद थपेर पनि । बीजेपीलाई पनि योभन्दा के चाहियो र,' उनले भने ।

तर, ढिलोचाँडो नयाँ गठबन्धन बन्ने सम्भावना भने नकार्न नसकिने उनी बताउँछन् ।

प्रकाशित: ८ पुस २०८१ १९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App