खोटाङमा रोकिराखेको जीप अचानक गुडेर दुर्घटना हुँदा एक वृद्ध गम्भीर घाइते भएका छन्।
केपिलासगढी गाउँपालिका-३ बास्पानीमा टाटा सुमो जीप (ना १ ज ७१८१) अचानक गुडेर २ सय मिटर तल खस्दा ७२ वर्षीय दुर्गाप्रसाद राई गम्भीर घाइते भएका हुन्।
काठमाडौंबाट यात्रु लिएर केपिलासगढी गाउँपालिका-१ फेदीतर्फ गइरहेको सुमो बुधबार दिउँसो दुर्घटनामा परेको हो।
घटनास्थलमा बेहोस अवस्थामा रहेका वृद्ध राईलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइएको थियो। तर, अवस्था गम्भीर भएकाले एम्बुलेन्समार्फत उनलाई जिल्ला अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिए।
अध्यक्ष राईका अनुसार चालकले सडकमा ढलेको बाँस पन्छाउन जीप रोकेर झर्नेबित्तिकै जीप आफैं गुडेको थियो। जीप तल खस्दा जीपको बाहिरी भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
दुर्घटनापछि फरार रहेका चालक इश्वरधन राई साँझ प्रहरी सम्पर्कमा आएका छन्। प्रहरी चौकी खार्मीले सुमो आफैं गुडेर दुर्घटना भएको पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा टोली परिचालन गरिएको प्रमुख प्रहरी डिएसपी प्रतिक विष्टले बताए।
सुमोका अन्य यात्रुहरू झरिसकेपछि राईलाई मात्र घरसम्म पुर्याउने क्रममा जीप दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जनाएका छन्।
प्रकाशित: १० पुस २०८१ २१:१९ बुधबार