भिम रावल एमालेमा छन् कि छैनन् ? यो प्रश्न नेपाली राजनीतिक वृत्तमा झन्डै तीन वर्ष उब्जिरह्यो। उत्तर दिनेहरूले भनिरहे–छन् पनि, छैनन् पनि !
यो उत्तरमा वस्तुगत जवाफ अथवा उत्तरभित्रको उत्तर खोज्न प्रश्नकर्तालाई सहज थिएन। पार्टी सदस्यका रूपमा रावल एमालेमै थिए, जिम्मेवारी, भावनात्मक सम्बन्ध र निरन्नतरको राजनीतिक बहाबका हिसाबले यस दौरान कहिल्यै एमालेमा देखिएनन्।
रावले आफैले भने सधैँ एउटै उत्तर दिइरहे, ‘म एमालमै छु। एमालेबाट कहिल्यै अलग छैन। एमालेकै बीचमा छु।’ तर उनको यो उत्तरसँग मेल खानेगरी एमालेले कहिल्यै उनलाई एमाले मानेको देखिएन, न कहिल्यै उनलाई पार्टी गतिबिधिमा उभ्यायो। उनकै गृहजिल्ला अछाममा आयोजित कार्यक्रममा समेत उभिन उनलाई धौधौ परेको देखिन्थ्यो।
यसो हुँदा पनि एमालेले रावललाई ‘एमाले होइन’ अथवा ‘एमालेमा छैन’ भनेर भनेन्। जसले राजनीतिक वृत्तमा उठेको प्रश्न जहिल्यै अनुत्तरित रहिरह्यो।
बुधबार अन्ततः तीनवर्षसम्म अनुत्तरित यो प्रश्नको ‘उत्तरभित्रको वास्तविक उत्तर’ एमालेले नै दिएको छ। बुधबार बसेको नेकपा एमालेको सचिवालय बैठकले रावलको संगठित सदस्यबाट मुक्त गर्दै एमालेको ढोका बन्द गरिदिएको छ।
‘कमरेड भिम रावलले उहाँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभो। उपाध्यक्षका लागि आग्रह गरिएकामा उहाँले मान्नुभएन। त्यसपछि हाम्रो केन्द्रीय सदस्यमा पनि नआउनुभएपछि वैधानिक व्यवस्थाअनुसार सल्लाहकारमा रहनुभयो,’ बुधबारको सचिवालय बैठकपछि रावलविरुद्धको कारबाही सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अभिव्यक्तिहरू पनि पार्टीलाई बलियो बनाउने भन्दा पार्टीलाई निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले उहाँलाई संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय भएको छ।’
यो सँगै रावल पार्टीबाट घोषित रूपमै निकालिएका छन्। अब उनी कहाँ हुनेछन् वा कहाँ जाने छन् ? त्यो प्रश्न भने उनीभित्र निहीत हुने छ।
नागरिक न्यूजसँगको छोटो प्रतिक्रियामा आफूलाई एमालेबाट निष्कासन गर्ने निर्णय एमाले अध्यक्ष केपी शर्मा ओलीको एक निर्णय भएको दाबी गरे।
‘यो मूलतः ओलीको एकल निर्णय हो। म माथि पार्टीको निर्णय भनेर ओलीले निरंकुशता लादे,’ रावलले भने, ‘यसले पार्टी पंङ्तीलाई क्षति गर्छ।’ सँगै उनले आफूले पार्टीका पक्षमा वकालत गर्दा ओली विदेशीका पाउमा परेको टिप्पणी गर्न भ्याए। उनले भने, ‘मैले पार्टीभित्र राष्ट्र, राष्ट्रियताको पक्षमा वकालत गर्दै लगेको थिएँ। ओली विदेशीको पाउमा पर्दै थिए।’
‘नेकपा एकीकृत समाजवादीमा जाने कुरा छ नि ?’ नागरिक न्यूजको प्रश्नमा उनी खुलस्त सुनिएनन्। ‘मैले अहिले केही सोचेको छैन। साथिहरूसँग छलफल गर्छु,’ रावलले भने। टेलिफोन प्रतिक्रिया दिँदा रावल थोरै भावुक लवजमा सुनिदै थिए।
एमालेभित्रको रावलको अन्तर्संघर्ष
२०१३ मा अछाममा जन्मिएका रावल २०३० सालमा कम्युनिस्ट विद्यार्थी राजनीतिमा लागेका हुन्। राधाकृष्ण मैनालीबाट नेकपा मालेको सदस्यता पाएको उनी दाबी गर्छन्। त्यसपछि उनी ०४८ मा एमालेको प्रचार विभाग सदस्य बनेका थिए।
०४८ को संसदीय निर्वाचनमा पराजित भएका रावल ०५१ मा भने निर्वाचित भएका थिए। त्यसयता उनी लगातार सुदूरपश्चिमको भुगोलबाट अवसर पाइरहेका एमाले नेतामा पर्छन्। पटक–पटक मन्त्री देखि उपप्रधानमन्त्रीसम्म बनेका छन्।
एमालेको छैठौं (०५४) र सातौं (०५९) महाधिवेशनमा केन्द्रीय सदस्य बनेका रावल आठौं (०६५) महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका थिए।
नवौं (०७१) महाधिवेशनमा भने रावल उपाध्यक्षमै सर्वाधिक मतसहित विजयी बनेका थिए। त्यसपछि भने एमालेभित्र उनको प्रभाव ह्वात्तै देखिएको थियो।
त्यसबाहेक सुदूरपश्चिम क्षेत्रको एमाले संगठनभित्र उनकै राइँदाइँ चल्थ्यो। १० वर्ष सेती अञ्चल इञ्चार्ज र प्रदेश संरचनामा गएपछि उनी पार्टीको प्रदेश इन्चार्ज नै बनेका थिए। यस्तै माओवादी केन्द्रसँग एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको समेत सुदूरपश्चिम इन्चार्ज बने।
यसक्रममा उनले आफ्नो समर्थन नगर्ने कैयौं पुराना नेतालाई ठेगान लगाएको र कैयौं आफू निकटलाई अवसर दिएको चर्चा समेत हुन्छ। ०७४ को स्थानीय तह निर्वाचन र संसदीय निर्वाचन रावल र एमालेका लागि सुदूरपश्चिममा फलिफाप भएको थियो। जसको जस एकलौटी रावलले लिएका थिए।
यता पार्टीको नवौं महाधिवेशन जितेका अध्यक्ष ओलीसँग भने उनको सुरुदेखि नै मिल्ती भएन। ०७४ को संसदीय निर्वाचनपछि बनेको सरकारमा आफूलाई मन्त्री नबनाएकै कारण ओलीको कटु आलोचक बनेको एमालेजन बताउँछन्।
यस्तोमा नेकपा एकीकरणपछिको समूहगत द्वन्द्वमा रावल ओलीको कटु आलोचक रहँदै पुष्पकमल दाहाल र माधव नेपाल क्याम्पमा रहे। त्यो अवधिमा ओली सरकारका लगभग सबैजसो कदमको उनी विपक्षीभन्दा मुखरित हुँदै आलोचनमा उत्रन्थे। यहीकारण रावल ओलीसँग मिल्नै नसकिने गरी टाढिएका थिए।
यता नेकपा विवादको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीले २०६६ पुस ५ र ०७८ जेठ ८ मा संसद् विघटन गरे। त्यसमा पनि रावलसहितका नेताहरू ओलीको विपक्षमा उत्रिए।
यसैक्रममा नेकपा विवादको सिलसिला एमाले–माओवादी पूर्ववत् अवस्थामा फर्किनु र एमाले विभाजन हुनुसम्मले रावलको आजको दिन आउनुमा भूमिका खेलेका छन्।
एमाले विभाजनताका सुरुमा माधव नेपालसँगै रहेका रावलसहित, अस्टलक्ष्मी शाक्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका १० जना नेताहरू अन्तिममा माधवसँगै गएनन्। ‘१० बुँदे सहमति’ गरेर उनीहरू एमालेमै बसे।
यता अन्य नेताहरू एमालेमै बस्दा विस्तारै ओलीको नेतृत्व स्विकार गर्दै समायोजन भए। रावल र घनश्याम भुसालले एमालेभित्र रहँदा पनि ओलीको विपक्षमा फरक मत राखिरहे। प्रतिनिधिसभाभित्र पनि एमालेले गरेको पार्टीगत निर्णयभन्दा बाहिर गएर आफ्ना अभिमत जाहेर गरिरहे।
यसैक्रममा ०७८ मंसिरमा भएको एमालेको १० औं महाधिवेशनमा ओलीको सर्वसम्मत् अध्यक्ष हुने चाहनाविपरीत रावलले प्रतिस्पर्धा गरे। रावलले २२३ मत पाउँदा एकहजार ८३७ मत पाएर ओली अध्यक्ष दोहोरिए। उक्त महाधिवेशनमा घनश्याम भुसाल, भीम आचार्य र टंक कार्की पनि ओलीको चाहनाविपरीत पदाधिकारीमै लडेका थिए।
अध्यक्षमा पराजित रावलले त्यसपछि दिएको केन्द्रीय सदस्य पद लिएनन्। बाहिरबाहिर ओलीको आलोचना गरेर हिँडिरहे। पार्टी वृत्तबाट टाढिदै गए। ०७९ को स्थानीय तह निर्वाचनमा पार्टीले उनलाई कुनै ठाउँ खटाएन्।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट एकल नाम सिफारिस भएर आउँदा पनि उनलाई एमालेले टिकट दिएन्। सुदूरपश्चिममा चुनावी सभामा पुग्दा अध्यक्ष ओलीले ‘भीम रावल बुढो भइसकेको भन्दै अब अरु रावलको पालो आएको’ भन्दै प्रतिक्रिया दिएका थिए। उता यही निर्वाचनमा टिकटबाट बञ्चित भएका घनश्याम भुसाल भने रुपन्देहीमा स्वतन्त्र निर्वाचन लडे, हारेर नेकपा एस प्रवेश गरेर महासचिव छन्।
त्यसयता रावल एमालेमा छन् कि छैनन् भन्ने स्थितीबाट गुज्रिरहेका थिए। सामाजिक सञ्जाल र विभिन्न टेलिभिजन अन्तर्वार्तामा ओली र पार्टीका अधिकांश निर्णय विरुद्ध उनी चर्को रूपमा सुनिदै आएका थिए। उनको बोलीमा विशेषगरी राष्ट्र, राष्ट्रियता र देशभक्तिका लागि आफ्नो संघर्ष रहेको सुनिदै आएको छ।
तर, उनको त्यो भाषा सामाजिक सञ्जालको भिडले रुचाउनुबाहेक एमालेजनले खुलस्त रुचाएको देखिदैन्। हिजो उनको संरक्षणमा रहेका सुदूरपश्चिमका नेताकार्यकर्ता पनि अहिले लाखापाखा लागिसकेका छन्। ओलीको एकछत्र राज रहेको एमालेमा रावलसँग भेट्न र बोल्न समेत डराइरहेका छन्।
एमालेले रावललाई यसरी दूरदूर गर्दा रावल आफैले भने एमाले छाडेनन्। नेकपा एसले उनलाई भित्र्याउन प्रयास गरिरहेको समाचार पनि आइरहे। तर, एमालेमा टाँस्सिरहे। अन्तमा एमालेले नै उनलाई निकालेर सदस्यबाट बेदखल गरिदिएको छ।
प्रकाशित: १० पुस २०८१ २०:५५ बुधबार