६ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले मन्त्रीहरू फेर्न चाहेका हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् । उनले मन्त्रिपरिषद् बैठकपिच्छे मन्त्रीहरूसँग असन्तुष्ट पोख्ने गरेका छन् ।

शुक्रबार (आज) बसेको बैठकमा पनि प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग असन्तुष्ट नै पोखे । उनले सरकार गठन भएको पाँच महिना बितिसक्दा पनि जनताले अनुभूत गर्ने गरी काम हुन नसकेको भन्दै असन्तुष्ट पोखे ।

यसअघि बसेको एक बैठकमा त प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई एक दिनमै परिणाम देखिने गरी काम गर्न निर्देशन नै दिएका थिए । यति मात्रै होइन, उनले भनेअनुसारको कार्यसम्पादन नदेखिए मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने समेत बताएका थिए ।

त्यसपछि मन्त्रीहरू परिवर्तन हुने चर्चा सुरु भयो । तर, नेपाली कांग्रेसका मन्त्री तथा नेताहरूले भने मन्त्रिपरिषद् पुनर्गठन नहुने बताउँदै आएका छन् । बिहीबार मात्रै गृहमन्त्री रमेश लेखकले मन्त्रीहरू नफेरिने बताएका छन् । उनी कांग्रेसका तर्फबाट गृहमन्त्री बनेका हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक ।

नेता मीन विश्वकर्मा कांग्रेसभित्र मन्त्री फेरबदलको छलफल नभएको बताउँछन् । 'केही साथीहरूले प्रधानमन्त्रीको हवाला दिएर मन्त्री फेर्ने कुरा गर्नुभएको हो क्यारे । तर, कांग्रेसभित्र आधिकारिक रूपमा त्यसखाले छलफल भएको छैन ।'

अहिले मन्त्री फेर्दा थप समस्या हुने बुझाइ कांग्रेसको रहेको नेता विश्वकर्मा बताउँछन् । 'नीति तथा कार्यक्रम अर्कैको हो । बजेट अर्कैको हो । अहिलेका मन्त्रीहरूले ढिलासुस्ती नगरिदिए र भ्रष्टाचार नगरदिए त्यही राम्रो कुरा हो, त्यही ठूलो कुरा हो । त्यसकारण अहिले मन्त्री फेर्दा थप समस्या हुन्छ,' उनले भने ।

एमालेभित्र पनि मन्त्री फेर्नेबारे आधिकारिक छलफल नभएको सचिव छविलाल विश्वकर्मा बताउँछन् । मन्त्रीहरूप्रतिको प्रधानमन्त्रीको असन्तुष्टलाई 'क्याच' गरेर मन्त्रिपरिषद् पुनर्गठनको 'न्यारेटिभ' बनाउन खोजिएको उनले बताए ।

'अरु कुराहरू सरकारको आफ्नै होला तर, पार्टीका तर्फबाट मन्त्री फेर्ने कुरा भएको छैन,' सचिव विश्वकर्माले भनेका छन् । पार्टीका बैठकहरूमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले त्यस्तो चाहना व्यक्त नगरेको उनले बताए ।

'भर्खरै पार्टीको बैठक बस्यो । तर, उहाँले त्यसरी बोल्नुभएको छैन । मन्त्री फेर्ने भन्ने कुरा अहिले विषय छैन,' उनले भने ।

यो पनि पढ्नुहोस्

मन्त्रीहरूको कामसँग प्रधानमन्त्री असन्तुष्ट

प्रकाशित: ५ पुस २०८१ १९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App