१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

खानेपानी आयोजनालाई सहयोग गर्ने कांग्रेस नेता कोइरालाको प्रतिबद्धता

विराटनगरमा निर्माणाधिन खानेपानीका विषयमा जानकारी लिंदै कांग्रेस नेता डा‍.शेखर कोइराला । तस्बिर : विनोद सुवेदी/नागरिक न्युज

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जापानी सहयोग नियोग (जाइका)को सहयोगमा विराटनगरमा निर्माणाधिन खानेपानी आयोजनालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार खानेपानी आयोजनाको निरिक्षण गरी डा.कोइरालाले खानेपानी आयोजना निर्माणमा कुनै समस्या देखिए सम्बन्धीत निकायमा पहल गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।  

डा.कोइरालाले जापानको सहयोगमा सञ्चालन हुने परियोजनाहरू समयमै सम्पन्न हुने भएकाले विराटनगरवासीले पनि चाँडै शुद्ध पीउने पानी पाउनेमा विश्वस्त रहेको बताए । उनले खानेपानीको पाइप पुरानो जीर्ण हुँदा विराटनगरवासीलाई खानेपानी वितरणमा समस्या देखिएको बताए । अशुद्ध खानेपानीकै कारण विगतमा विराटनगरमा जन्डिसजस्ता रोगको संक्रमण फैलिएको स्मरण गरे । परियोजनाको काम सन्तोषजनक रुपमा भइरहेको आफूले पाएको उनको प्रतिक्रिया थियो ।  

डा.कोइरालाले विराटनगर–५ र ११ नं वडामा भएको कामको निरिक्षण गरेका थिए । विराटनगर-५ स्थित कलरुवा टोलमा ओभरहेड ट्यांकीका लागि जग खन्ने काम भइरहेको छ । कलरुवामा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ । त्यस्तै सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउण्ड रिजरभाएर ट्यांकी (पानी स्टोर गर्ने ट्यांकी) निर्माण हुनेछ । 

डिपीएस स्कुलदेखि पूर्वतर्फ पाइप क्रसिङका लागि ब्रिजको काम भइरहेको छ । खानेपानी संस्था विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार तीनपैनी, देवकोटा चोक र मुनालपथमा १२-१२ लाख लिटर क्षमताको पानी स्टोर गर्ने ट्यांकी निर्माण गरिनेछ । तीनपैनीमा हाल ४ लाख ५० हजार लिटर ओभरहेड ट्यांकी छ ।

परियोजनाबाट विराटनगर वडा नम्बर १ देखि १४ का बासिन्दा लाभान्वित हुनेछन् । ६८ किलोमिटर पाइप बिछ्याइने रौनियारको भनाइ छ । तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको उनले बताए  । हाल ४ किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ । 

हाल निर्माणको करिब ९ प्रतिशत काम सकिएको छ । आवतजावत र बजारको व्यापार व्यवसायमा कुनै असर नपर्ने गरी पाइपलाइन विस्तारको काम भइरहेको रौनियारको भनाइ छ । उनका अनुसार सो परियोजना करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको छ । 

प्रकाशित: ३० मंसिर २०८१ १९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App