नेपाली कांग्रेसले बीआरआई अन्तर्गत भएको सम्झौता अनुदानमा मात्र स्वीकार्ने दोहोर्याएको छ। बिहान सभापति शेरवहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीरआई अन्तर्गतका परियोजना ऋणमा गर्न नसकिने निश्कर्ष निकालेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङलाई अनुदानका रुपमा व्याख्या गर्दै अनुदान स्वीकार्ने पार्टीको पुरानै अडानलाई बैठकले कायमै राखेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले बताए। महतले बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङ भनेर सहमति भएकाले त्यसै अनुरुप अनुदानबाट परियोजना सञ्चालन गर्नु पर्ने बताए।
महतले बीआरआईमा सहमति गरिएपनि त्यस अन्तर्गतका परियोजना सञ्चालन गर्ने बेलामा फेरि हुने सम्झौतामा नेपालले ऋणबाट गरिने आयोजना नगरेर अनुदानका आयोजना मात्र स्वीकार्न सक्ने बताए। महतले बीआरआई मात्र होइन कुनै पनि देश र दातृ निकायका ऋण नेपालले स्वीकार गर्न सक्ने अवस्था नभएको जिकिर गरे।
उनले ऋणबाट बनाइएको पोखरा विमानस्थलको उदाहरण दिदै ऋणमा बनेका परियोजनाबाट नेपालले प्रतिफल लिन नसकेको तर्फ सचेत हुनुपर्ने बताए।
यसैबीच आज बसेको बैठकले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई अनुमोदन गरेको छ। बैठकले सभापति शेरबहादुर देउवाको श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्तावलाई अनुमोदन गरेको हो।
त्यस्तै बैठकले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ। स्याङ्जाकी थापालाई सांसदमा सिफारिस गर्ने निर्णय भएको प्रवक्ता महतले बताए। कांग्रेसबाट समानुपातिक सांसद विमला गौचनको केही समयअघि मृत्यु भएको थियो। सो रिक्त स्थानमा थापालाई सांसद बनाउन लागिएको हो।
प्रकाशित: २४ मंसिर २०८१ १२:१२ सोमबार