२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘माउ पार्टी’का नीति विपरीत पत्रकारका सङ्गठन गठबन्धन गरेर चुनावमा

यही मंसिर २८ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनमा दलनिकट पत्रकार संगठनहरू गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । सत्तारूढ दलनिकट सङ्गठन र विपक्षी दलनिकट संगठनले छुट्टाछुट्टै गठबन्धन गरेर उम्मेदवारी दिएका हुन् ।

रोचक पक्ष के छ भने पत्रकारका संगठनले ‘माउ पार्टी’ मान्दै आएका दलहरूले निर्वाचनमा गठबन्धन नगर्ने नीति लिएका छन् । विशेष सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचनमा गठबन्धन नगर्ने आधिकारिक निर्णय नै गरेका छन् । 

यीनै दलमध्ये कांग्रेसको शुभेच्छुक सङ्गठन नेपाल प्रेस युनियन र एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालले महासंघको आगामी नेतृत्वका लागि केन्द्रदेखि जिल्लासम्मै गठबन्धन गरेको छ । 

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि गठबन्धन नगर्ने निर्णय गरेको भन्दै आएको छ । उसको भातृ सङ्गठन प्रेस सेन्टर नेपाल पनि महासंघको निर्वाचनमा एक्लै नगएर अन्य विपक्षी दल नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठन, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन, प्रगतिशील पत्रकार सङ्गठन,  प्रेस मञ्च नेपाल र केही स्वतन्त्र तथा सत्ता गठबन्धनका बागी उम्मेदवारसँग गठबन्धन गरेको छ । 

कांग्रेस निकट प्रेस युनियनले केन्द्रमा अध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्षसहितका पद एमालेनिकट प्रेस चौतारीलाई दिएर बाँकी बहुमत पद लिँदै गठबन्धन गरेको छ । 

केन्द्रीय समितिमा १३ सदस्यीय पदाधिकारीमा युनियनले वरिष्ठ उपाध्यक्ष र महासचिव सहित ८ पद र चौतारीले अध्यक्षसहित पाँच पद लिएका छन्। 

चौतारीले अध्यक्षमा निर्मला शर्मा, महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासनलाई उम्मेदवार बनाएको छ । 

युनियनले वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, वैकुण्ठ पराजुली र अशोक तिवारीलाई उम्मेदवार बनाएको छ । केन्द्रीय सदस्यमा युनियनले बहुमत आफूसँग लिएको छ । 

यस्तै युनियन–चौतारीबिच प्रदेश र जिल्लासम्म पनि भागबन्डा भएको छ । युनियनले बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट प्रदेश समितिको नेतृत्व लिँदा चौतारीले कोसी, मधेस, कर्णाली र उपत्यका प्रदेश समितिको नेतृत्व लिएको छ । 

जिल्ला शाखाको अध्यक्ष पनि युनियनले ४३ र चौतारीले ३४ गरेर भाग लगाएका छन् ।  

यस्तै विपक्षी गठबन्धनबाट माओवादी केन्द्रनिकट प्रेस सेन्टरबाट अध्यक्षमा कमल गिरीले उम्मेदवारी दिएका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, महासचिवमा लेखनाथ न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण अधिकारी, सचिवमा उत्तर विष्ट, मधेसी सचिवमा सिर्जना झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा विकास कार्की र लेखा समिति संयोजक ध्रुव रावलको उम्मेदवारी परेको छ।

यस्तै यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका रमेश विष्टले अध्यक्षमा छुट्टै उम्मेदवारी दिएका छन् । उनी कांग्रेसनिकट हुन् । 

प्रकाशित: २१ मंसिर २०८१ १८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App