नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले हालै सम्पन्न उपनिार्वचन परिणामले आफ्नो दलको पक्षमा जनमत बढेको पुष्टि भएको बताएका छन् ।
गंगादेव गाउँपालिकाको अधिवेशनलाई मंगलबार सम्बधोन गर्दै पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रुपमा आफूहरुलाई जनमतले अनुमोदन गरेको बताए । कांग्रेस र एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको गलत अफवाहलाई जनताले खारेज गरेको उनको भनाइ थियो ।
‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौं भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो’, पुनले भने, ‘कहिले एमालेले र कहिले काँग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौं । उपचुनावको परिणमबाट जनताले त्यसको जवाफ दिएका छन् । हामीले आफ्नो जनमत देखाएका छौं ।’
विगतका केही निर्वाचनमा तालमेल गर्दा कांग्रेस र एमालेले आफूहरुको मत लिएको तर आफूहरुलाई मत नदिएको पनि यो निर्वाचनले पुष्टि गरेको उनले बताए । उनले कांग्रेस र एमालेको जनमत घटेको र आफूहरुको बढेको दाबी गरे । जितेका ११ ठाउँबाहेकमा पनि धेरै स्थानमा आफ्नो दल दोश्रो भएकाले त्यो पुष्टि हुने तर्क पुनको थियो ।
निर्वाचन परिणामले वर्तमान व्यवस्थालाई बहुदलीयबाट दुई दलीय व्यवस्थामा लैजाने र पालौलापो जनतालाई शासन गर्ने काँग्रेस–एमाले महत्कांक्षामा धक्का लागेको उनले बताए । ‘अब त्यो सम्भव छैन । बहुदलीय प्रतिस्पर्धा हुन्छ । माओवादीलाई माइनस गरेर जान तपाईंहरुले सक्नुहुन्न’, पुनले भने ।
पुनले जनताले एक्लै निर्वाचनमा जाँदा आफूहरुलाई विश्वास गरेको भन्दै उनले पार्टी केन्द्रीय समितिबाट आगामी दिनमा स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा कसैसँग तालमेल नगर्ने निर्णय यसअघि नै भएको स्मरण गराए ।
पुनले आफूहरुको ध्यान सरकारमा नभएको भन्दै ०८४ सम्म मिलेर सरकार चलाउन कांग्रेस–एमालेलाई आग्रह गरे । ती दलका नेताले आफ्नो महत्व बढाउन माओवादी सरकार ढाल्ने खेलमा लागेको भन्दै टिप्पणी गरेको भन्दै उनले सरकारबाहिरै बसेर जनताको सेवा गर्ने उल्लेख गरे । पुनले विगतका चार महिनामा जसरी नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुको सेवा गरिरहे यो सरकारलाई जनताले सडकबाटै ढाल्ने दाबी गरे ।
‘तपाईंहरुको विचार, व्यवहार, शैली र प्रवृत्ति मिल्छ । तपाईंहरु मिलेरै सरकार चलाइराख्नुस्’ पुनले भने, ‘हामीलाई सरकार चाहिएको छैन । अहिले जसरी नै भ्रष्टाचारी, बिचौलिया, दलालहरुको सेवा गरिराख्नुभयो भने तपाईंहरुलाई कुनै दिन जनताले सडकबाट गलहत्याउँछन् ।’
प्रकाशित: १८ मंसिर २०८१ १७:४५ मंगलबार





