२५ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपनिर्वाचन : कांग्रेस-एमालेविरुद्ध समाजवादी मोर्चासम्बद्ध दलहरूको तालमेल

आसन्न स्थानीय तह उपनिर्वाचनमा समाजवादी मोर्चासम्बद्ध दलहरूबीच चुनावी तालमेल हुने भएको छ । मंसिर १६ गते चार पालिका प्रमुखसहित ४४ पदमा उपनिर्वाचन हुँदैछ । त्यसमा मोर्चासम्बद्ध दलहरूबीच चुनावी तालमेल हुने भएको हो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द 'विप्लव सी' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) छन् ।

यी चार दलबीच चुनावमा सहयोग गरागर हुने अनौपचारिक समझदारी भएको छ । चार दलबीच सत्तारूढ दलहरूले नेपाली कांग्रेस र नेकपा (एमाले)बाहेक अरु दलसँग पनि स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने निष्कर्ष निकालेका छन् ।

त्यसो त मोर्चाका दुई घटक विप्लव नेतृत्वको नेकपा र नेसपाका आफ्नै उम्मेदवार छैनन् । तर, उनीहरूले माओवादी र एकीकृत समाजवादीका उम्मेदवारहरूलाई समर्थन जनाउने छन् ।

नागरिकलाई प्रतिक्रिया दिँदै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्भव भएसम्म मोर्चाका अरु दलका उम्मेदवारहरूलाई समर्थन जनाउने बताए । 'अहिलेलाई हाम्रो आफ्नै उम्मेदवार छैनन् । मोर्चाका अरु दलका उम्मेदवारलाई समर्थन गर्ने कुरामा पनि कुनै निर्णय भएको छैन तर, सम्भव भएसम्म र राम्रा उम्मेदवारलाई समर्थन गर्न मिल्छ ।'

नेसपाले पनि मोर्चाका अरु दलका उम्मेदवारलाई समर्थन जनाउने छ । नेसपा नेता गंगानारायण श्रेष्ठले भने, 'केही ठाउँमा उम्मेदवारी दिने भनेका थियौँ तर, पछि फिर्ता गर्‍यौँ । यसपटक माओवादीलगायतका मोर्चाका दलका उम्मेदवारलाई समर्थन जनाउँछौँ ।'

उसो त नेसपाले माओवादीसँग पार्टी एकता नै गर्दैछ । मंसिरपछि पार्टी एकताको प्रक्रिया टुङ्गिने भनाइ नेता श्रेष्ठको छ । त्यसकारण पनि आफूहरूले छुट्टै उम्मेदवार नदिएको उनको प्रष्टोक्ति छ । निर्वाचनलगत्तैदेखि माओवादीसँग पार्टी एकताको प्रक्रिया सुरु हन्छ । त्यसकारण पनि हामीले आफैँले उम्मेदवारी दिएनौँ,' नेता श्रेष्ठले भने ।

कांग्रेस-एमालेविरुद्ध एक !

मोर्चासम्बद्ध दलहरूले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)विरुद्ध एक हुने रणनीति अपनाएका छन् ।

सँगै उनीहरूले यो पनि भनेका छन् कि कांग्रेस एमालेबाहेक अरु दलहरूसँग स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुन सक्नेछ तर, उम्मेदवार देशभक्त, इमान्दार र जनप्रगतिशील हुनुपर्छ ।

यो आजको आवश्यकतासमेत रहेको तर्क माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाको छ । नागरिकसँगको संवादमा उनले भने, 'अग्रगमनकारी शक्तिहरूको एकता आजको आवश्यकता हो । यसैअनुरूप हामीले उपनिर्वाचमा पनि समाजवादी मोर्चामा रहेका दलहरूबीच चुनावी तालमेल होस् भनेका छौँ ।'

सत्तासीन दलहरू कांग्रेस र एमालेसँग भने चुनावी तालमेल वा सहकार्य कुनै पनि हालतमा नहुने प्रवक्ता सापकोटाले बताए । 'कांग्रेस-एमालेसँग चाहिँ हुँदैन भनेका छौँ । त्यसैअनुसार हामीले तल्ला कमिटीहरूलाई भनेका छौँ । यसैगरी अगाडि बढ्छौँ,' उनले भने ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको भनाइ पनि मिल्दोजुल्दो नै छ । उनले पनि कांग्रेस-एमालेबाहेक अरु दलहरूसँग चुनावी तालमेल गर्ने बताए ।

'हामीले के भनेका छौँ भने सत्तामा रहेका कांग्रेस-एमालेबाहेक अरु दलहरूसँग आवश्यकताका आधारमा चुनावी तालमेल हुन भनेका छौँ,' महासचिव भुसालले भने ।

जसै काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख पदका एकीकृत समाजवादीका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवार निष्क्रिय पारेका छन् । सँगै उनले माओवादीका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई जिताउनका लागि उर्दी जारी गरेका छन् ।

यो काम मोर्चासमबद्ध दलहरूका बीचको समझदारीपछि गरिएको महासचिव भुसालले बताए । 'यसैगरी सम्भव भएसम्म सबै ठाउँ नै मिलेर जाने भन्ने समझदारी हो,' उनले भने ।

माओवादीविरुद्ध कांग्रेस-एमालेको मोर्चाबन्दी

चार दल कांग्रेस-एमालेविरुद्ध एक भइरहँदा रुकुमको पुथा गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिकाको वडा नं. २ मा भने माओवादीविरुद्ध कांग्रेस-एमालेले मोर्चाबन्दी गरेका छन् ।

अझ रोचक त के भने उपाध्यक्षमा कांग्रेसको चुनाव चिह्न रुख लिएर एमाले नेता केशकुमारी तुलाचनले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै वडामा एमालेका जीवन रोका उम्मेदवार छन् । उनले भने सूर्य चिह्नबाटै चुनाव लड्नेछन् ।

एमाले नेताहरूले भने यसलाई स्थानीय आश्यकताका आधारमा गरिएको मोर्चाबन्दी भएको बताएका छन् ।

प्रकाशित: १२ मंसिर २०८१ १७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App