६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

रवि छुटाउन रास्वपाको दोहोरो दाउ: दिउँसो सडकमा ललकार, साँझ हारगुहार !

उपाध्यक्ष अर्यालले भेटे प्रधानमन्त्री र गृहमन्त्री

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने त्यसयता प्रहरी हिरासतमा छन् । रविको पक्राउलाई रास्वपाले ‘राजनीतिक प्रतिशोध’का रूपमा अर्थ्याउँदै त्यसयता लगातार प्रदर्शन गरिरहेको छ । सुरुका केही दिन पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपा अहिले काठमाडौंमा दिनहुँ जसो विरोधका कार्यक्रम गरिरहेको छ ।

सडकमा रास्वपाका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेतामाथि आक्रामक बोलिरहेका छन् । कतिपय नेताहरूले हिंस्रक अभिव्यक्ति समेत दिइरहेका छन् ।  रास्वपा नेताहरूले आन्दोलन गरिरहँदा सडकबाटै सरकारका फाल्नेसम्मका चेतावनी पनि दिइरहेका छन् ।  

यसरी एकातिर सरकार र सत्ताधारी दललाई ललकारी रहेको रास्वपाका नेताहरू भित्रभित्रै रविलाई हिरासतमुक्त गरेर अनुसन्धान रोकिदिन हारगुहार गरिरहेको खुलेको छ ।  

सोमबार साँझ मात्रै रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री लेखकलाई सिंहदरबारमा भेटेको खुलासा भइसकेको छ । यसबाहेक सोमबार साँझ नै अर्यालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको खुलेको छ ।  

अर्यालले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेको कुरा प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले पुष्टि गरे । ‘डिपी जी र सन्तोष परियार(रास्वपा संसदीय दलका प्रमुख सचेतक)जी आउनुभएको थियो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूसँग उहाँहरूले केके कुरा गर्नुभयो थाहा भएन ।’  

रवि पक्राउ पर्दा अघोषित रूपमा रास्वपाको नेतृत्व अर्यालले लिइरहेका छन् । अर्यालले गृहमन्त्री र प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक प्रतिशोध नलिएर रवि विरुद्धको अनुसन्धान कमजोर पारिदिन आग्रह गरेको स्रोत बताउँछ । स्रोतका अनुसार अरू केही नभए पनि रविलाई हिरासतबाहिर राखेर अनुसन्धान गरिदिए हुन्थ्यो भन्ने आशयले रास्वपाका नेताहरू प्रस्तुत भएका छन् ।  

रविविरुद्धको अनुसन्धानमा प्रहरी एकपछि अर्को गर्दै अघि बढ्न थालेसँगै रास्वपाका नेताहरू सरकारसँगै डिल गर्ने अवस्थामा पुगेका हुन् । हाल पोखराको सूर्य दर्शन सहकारीको बचत रकम हिनामिना मुद्दामा अनुसन्धान लागि हिरासतमा लिएका रवि विरुद्ध बुटवलको सुप्रिम सहकारीको प्रकरणमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । यस्तै चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मी र वीरगन्जको सानो पाइला सहकारीको बचत रकम हिनामिना प्रकरणमा पनि रवि विरुद्ध प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ ।  

रवि गोर्खा मिडिया प्रालिको सञ्चालक र प्रबन्ध निर्देशक रहेका बेला यी सबै सहकारीबाट रकम आएको देखिएको छ । यसरी यी सबै सहकारीको अनुसन्धान गर्दा रवि लामो समय हिरासतमा पर्ने स्थिति देखिएपछि रास्वपा नेताहरू सरकारसँगै लबिङ गरेर अनुसन्धान कमजोर बनाउने प्रयासमा जुटेको स्रोत बताउँछ ।  

रास्वपा नेताका यस्ता गतिविधिविरुद्ध सत्तारूढ दल नेकपा एमालेका नेताहरू भने खरो रूपमा उत्रिरहेका छन् । एमालेका नेता विष्णु रिजालले त फेसबुकमा एक स्ट्याटस राखेर रास्वपा नेताका यस्ता गतिविधिले मुद्दा फिर्ता नहुने प्रतिक्रिया दिएका छन् ।  

‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्‍यो, लौ न भनेर हारगुहार गर्दा हुन् ?,’ एमाले नेता रिजालले प्रश्न गर्दै लेखेका छन्, ‘यति हेक्का राखे हुन्छ–राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहाँले चाहँदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।’  

प्रकाशित: १३ कार्तिक २०८१ १५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App