६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

अन्तर–व्यवस्थापिका संघको महासभामा नेपालको सहभागिता उपलब्धिमूलक र सफल: अध्यक्ष दाहाल

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर–व्यवस्थापिका संघ (आईपीयु)को १४९ औँ महासभामा नेपाली प्रतिनिधि मण्डलको सहभागिता उपलब्धिमूलक र सफल रहेको बताएका छन्।

असोज २७ गतेदेखि कार्तिक १ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा भएको अन्तर–व्यवस्थापिका संघ(आईपीयु) को १४९ औँ महासभामा राष्ट्रिय सभा सदस्य दाहालसहित ९ सदस्यीय टोलीको सहभागिता रहेको थियो।

मङ्गलवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारहरूसँग भेटघाट गर्दै अध्यक्ष दाहालले महासभामा नेपाली प्रतिनिधि मण्डलको सहभागिता उपलब्धिमूलक र सफल भएको बताएका हुन । उनले महासभामा आफूले नेपालको सङ्घीय संसदको नेतृत्व गर्दै ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा केन्द्रित रहेर सम्बोधन गरेको जानकारी दिए।

अध्यक्ष दाहालले आफ्नो सम्बोधनको क्रममा  विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समतामूलक पहुँच सुनिश्चित गर्न यस क्षेत्रलाई साझा हितको विषयका रुपमा हेर्नुपर्नेमा जोड दिएको बताए । उनले विश्वका साढे दुई अरब मानिसहरूको अझै पनि सूचना प्रविधिमा पहुँच नभएको उल्लेख गर्दै सबैमा समान पहुँच पुर्‍याउनका लागि अनुसन्धान, विकास, स्रोत परिचालन र युवाहरूको सहभागिता बढाउन प्रविधिको समान पहुँचमा सुनिश्चितता गर्नुपर्नेमा पनि आफ्नो जोड रहेको जानकारी गराए।

उनले सम्बोधनको क्रममा साइबर असुरक्षा, गोपनीयता भङ्ग, नकारात्मक सामग्रीको प्रचार र (आर्टिफिसियल इन्टेलिजेन्स) एआईको दुरुपयोगको जोखिम न्यूनीकरण गर्नुपर्नेमा आफूले जोड दिएको बताए। त्यसका लागि आवश्यक नीति, नियम बनाउनका लागि विश्वका व्यवस्थापिकाहरूका बिचमा सहकार्यको आवश्यकता रहेको उनको भनाई थियो।

अध्यक्ष दाहालले जलवायु परिवर्तनको प्रभाव र जोखिम न्यूनीकरणका लागि स्थापित कोषहरूबाट सहायता उपलब्ध गराउन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रविधि उपलब्ध गराउन विश्व समुदायलाई आव्हान गरेको बताए।उनले नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने दिशामा रहेको भन्दै यसका लागि अन्तर्राष्ट्रिय स्तरबाट थप प्राविधिक र योजनागत सहयोगको आव्हान गरेको पनि जानकारी दिए।

उनले अन्तर–व्यवस्थापिका संघको महासभामा नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा नेपालको शान्ति प्रक्रियाको बारेमा विश्व समुदायलाई जानकारी दिएको पनि बताए। उनले आफूले लोकतन्त्रको सुदृढीकरण र अन्तर्राष्ट्रिय मुद्दाको समाधान खोज्नका लागि सहकार्य र साझेदारी गर्न अन्तर–व्यवस्थापिका संघको महत्त्वपूर्ण भुमिका हुने कुरा राखेको बताए। 

प्रकाशित: ६ कार्तिक २०८१ १७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App