६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

पक्राउअघि देउवासँग भेट्न चाहन्थे लामिछाने

सहकारीको बचत ठगी प्रकरणमा प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेले सरकारमा सहकार्य गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटको समय मागेको पाइएको छ। कांग्रेसका दोस्रो तहका नेताहरूसँग भेट गरेर लामिछानेले जसरी पनि देउवासँग समय मिलाइदिन आग्रह गरे पनि उनको माग माग पूरा भएन।

असोज १३ गते सिंहदरबारमा राज्य व्यवस्था समितिको बैठक सकिएपछि लामिछानेले कांग्रेसका दोस्रो तहका नेताहरूसँग छुट्टै भेटघाट गरी वर्तमान सरकार ढाल्न र कांग्रेसलाई सहयोग गर्न प्रतिबद्ध रहेको जनाउँदै देउवासँगको भेटघाटका लागि समय मागेका थिए। ‘केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर देउवाको नेतृत्वमा सरकार बनाउन आफू जुनसुकै कागजमा हस्ताक्षर गर्न तयार रहेको भन्दै कांग्रेस नेताहरूसँग लामिछानेले भेटघाट गरेका हुन्,’ भेटघाटमा सहभागी एक नेताले नागरिकसँग भने। स्रोतका अनुसार भेटघाटमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, हृदयराम थानी तथा रास्वपा सभापति लामिछाने र उनकै दलका अन्य दुई नेता सहभागी थिए।

लामिछानेले कांग्रेसका नेताहरूलाई तारन्तार देउवासँग भेटका लागि समय मिलाइदिनुपर्‍यो भनेपछि कांग्रेसका केही नेताले बुढानीलकण्ठ पुगेर लामिछानेको कुरा सुनाएको र भेट गरिदिन आग्रहसमेत गरेका थिए। ‘हामीमध्येकै केही साथीले रवि लामछिानेले राखेको कुरा सभापतिज्यूसमक्ष पुर्‍याएका थियौं,’ स्रोतले भन्यो।

यस विषयमा राज्य व्यवस्था समितिका सभापति खतिवडासँग जिज्ञासा राख्दा उनले आफू समिति सभापति भएकाले सबै सांसदसँग भेटघाट हुने गरेको बताए। ‘तपाईंले भनेको समय बाढीपहिरोले मुलुक संकटमा परेको बेला लामिछानेसहितका सांसदहरूसँग भेटघाट भयो होला तर कुराकानी धेरैवटा विषयमा हुने नै भयो ,’ खतिवडाले भने।

उनले थपे, ‘पार्टी सभापतिलाई नै भेटघाट गर्छु भन्नुभएको कुराचाहिँ याद भएन ।’ लामिछानेले गोप्य कुराकानी गर्न चाहेको भन्ने जिज्ञासा राख्दा खतिवडाले आफूसँग गोप्य कुराकानी नै हुने नगरेको भनेर विषयलाई पन्छाए। ‘सांसदहरूसँग भेटघाटलाई गोप्य भन्न मिल्दैन। रविजी र उहाँका पार्टीका सांसदहरू पनि हुनुहुन्थ्यो। हाम्रो पार्टीका सांसदहरू पनि हुनुहुन्थ्यो। यसका केही गोप्यता भन्ने छैन,’ खविडाले भने।

देउवासँगको भेटघाट असफल भएपछि उनले प्रधानमन्त्री ओलीसँग पनि भेटघाटको कोसिस गरेका थिए। तर समय अभाव भएकाले ओलीसँग भेटघाटको समय मिलेको थिएन। ‘प्रधानमन्त्रीज्यू निकै व्यस्त हुनुभयो। उहाँले भेटघाट गर्न खोज्नुभयो या भएन मलाई थाहा भएन, प्रधानमन्त्रीज्यू काममा व्यस्त भएका कारण कसैसँग भेटघाट गर्नुभएन,’ प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले भने। यसअघि छानबिनका लागि बनेको संसदीय विशेष समिति र कास्की प्रहरीलाई बयान दिएपछि रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। भदौ दोस्रो साता लामिछानेले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापतिन देउवासँग छुट्टाछुट्टै भेटेर सहकारी ठगी प्रकरणमा कुराकानी गरेका थिए।

सहकारीको रकम ठगी गरेको आरोप लागेका लामिछानेले भदौ ७ गते संसदीय विशेष समितिमा पुगेर नौ घण्टा बयान दिएका थिए। त्यसको तीन दिनपछि अर्थात् भदौ १० मा कास्की प्रहरीले काठमाडौंमै आएर बयान लिएलगत्तै लामिछानेले प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए।

 त्यतिबेला कास्की प्रहरीले बयान लिनुअघि लामिछानेले चितवन पुगेर सरकारप्रति ठुलै आक्रोश पोखेका थिए। प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिको कार्यालयमा खानतलासी गरी लामिछानेलाई बयानका लागि फोन गरेपछि उनले आफूलाई थुनेर देखाउन चुनौती दिएका थिए।

एमालेसँगको सहकार्यमा गृहमन्त्री भएका लामिछानेले पछि कांग्रेस र एमालेबीच सहकार्य भएपछि त्यसलाई ‘अपवित्र’ साँठगाँठको संज्ञा दिएका थिए। संसदीय विशेष छानबिन समितिमा बयान दिएर बाहिर निस्केपछि पनि लामिछानेले कांग्रेस र एमाले दुवै दलका नेताहरूको आलोचना गरेका थिए। लामिछानेले बाहिर आलोचना गर्ने र भित्रभित्रै आफूलाई जोगाइदिन ओली–देउवासँग हारगुहार गर्ने गरेका थिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवानिकट एक नेताका अनुसार लामिछानेले असोज १३ गते भेटघाटको प्रस्ताव राख्दै कुनै पनि हालतमा ओली सरकार ढाल्नुपर्ने र आफू त्यसका लागि तयार रहेको बताएका थिए। ‘लामिछाने पक्राउ पर्ने निश्चितजस्तै थियो। दसैंअघि नै पक्राउ गर्ने तयारी भइरहँदा सभापतिज्यूसँग भेटघाटको समय मिलाइदिन उनले आग्रह गरेका थिए,’ ती नेताले भने।

लामिछानेविरुद्ध २०८० माघ २२ गते कास्की प्रहरीमा जाहेरी परेको थियो। त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको छ। पोखरास्थित सूर्यदर्शन सहकारीमा बचत रकम तत्कालीन अवस्थामा लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा पनि ऋण प्रवाह भएको पाइएपछि बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए।

प्रहरीले उनी सरकारमा हुँदासम्म अनुसन्धान अघि बढाउन सकेन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कागजात झिकाएर अनुसन्धान गरिरहेका बेला गृहमन्त्री भएका लामिछानेले सिआइबी प्रमुख किरण बज्राचार्य र सहकारी ठगी अनुसन्धानमा खटिएको टिमलाई नै सरुवा गरिदिएका थिए।

सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताले राखेको रकम हिनामिना गरिएको उजुरी कास्की प्रहरीमा परेको छ। पीडितले गत माघमा रास्वपा सभापतिसमेत रहेका लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहितको नामै तोकेर प्रहरीमा जाहेरी दिएका थिए।

गीतेन्द्रबाबु (जिबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेका बखत सूर्यदर्शन सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्क प्रालिमा पाँच करोड ५८ लाख नौ हजार रूपैयाँ प्रवाह भएको तथ्य प्रहरीले प्रारम्भिक अनुसन्धानमा फेला परेको छ।

सिआइबीको अनुसन्धान प्रतिवेदनमा लामिछानेका हकमा चेकमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको ५० लाख र नगदै लिएको ५० लाखसमेत गरी एक करोड रूपैयाँको वार्षिक ब्याजदर १४.७५ का दरले ऋण लिएको उल्लेख छ।

सोही प्रतिवेदनमा लामिछानेले ऋण, ब्याज तथा सेवा शुल्कसमेत गरी एक करोड ३० लाख ८८ हजार सात सय ३६ रूपैयाँ १६ पैसा गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा स्वामित्व हस्तान्तरण गरेको देखिएको उल्लेख छ। यो विषयमा सिआइबीले थप अनुसन्धान गरिरहेका बेला लामिछाने गृहमन्त्री भएका थिए।

त्यस्तै बुटबलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २०७८ असार २२ मा कुमार रम्तेलका नाममा एक करोड ९० लाख रुपैयाँ ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकमा भएको खातामा एक करोड तीन लाख ३६ हजार जम्मा गरी बाँकी लामिछानेको खातामा ऋण फस्र्योट देखाएर कुमार रम्तेलकै नाममा ऋण कायम गरेको छानबिनबाट पाइएको छ।

यसैगरी सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट भूपेन्द्रबाबु राईका नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा सिद्धार्थ बैंकमा भएको खातामा २०७७ असोज ११ मा एक करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आइएमई बैंकमा भएको खातामा २०७८ वैशाख ५ मा एक करोड, २०७८ वैशाख ९ मा ३० लाख र २०७८ असार ४ मा एक करोड गरी तीन करोड ३० लाख रूपैयाँ जम्मा भएको छानबिनबाट पाइएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ माघ २९ मा छविलाल जोशीका नाममा २ करोड ५० लाख रूपैयाँ ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा ग्लोबल आइएमई बैंकमा भएको खातामा दुई करोड ४५ लाख रूपैयाँ जम्मा भएको पनि पाइएको छ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा पेस्की जनाई २०७८ जेठ ३ मा ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र २०७८ असार ९ मा पनि ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा प्रवाह भएको देखिएको छ। त्यतिबेला पनि लामिछाने गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए।

२०७८ असार ३१ मा लामिछानेकै नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरेर कर्जा खडा गरी पेस्की सेटल गरेको पाइएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा लामिछानेका नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण एक करोड रुपैयाँको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४ लाख ७५ हजार र दोस्रो वर्षको ब्याज १६ लाख १३ हजार ७३० रुपैयाँसमेत गरी एक करोड ३० लाख ८९ हजार रूपैयाँ २०८० असार १३ मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी ऋण कायम गरिएको थियो।

२०७८ असार ३१ मा सुप्रिम सहकारीबाट पुलेसो कर्जामार्फत लामिछानेका नाममा १ करोड रकम निकासा गरिएको पाइएको छ। उनका नाममा पनि २०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ।

ग्यालेक्सी टेलिभिजनका पूर्वसंस्थापक एवं पूर्वडिआइजी छविला जोशीलाई कास्की प्रहरीले बयान लिइसकेर सोमबार रूपन्देही लगेको छ। जोशी पनि ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता अर्थात् जिबी राईका साझेदार थिए। पछि उनी गोर्खा मिडियाबाट बाहिरिएका थिए। सहकारीको रकम हिनामिना गरेकै आधारमा सूर्य थापा नेतृत्वको संसदीय समितिले लामिछानेलाई कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरी उनलाई पक्राउ गरी कास्की लगेको छ।

प्रकाशित: ६ कार्तिक २०८१ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App