६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

जब श्रीमान्‌ले श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो झोसिदिए...

<br>

जिल्ला प्रहरी कार्यालय उदयपुर । तस्बिर: महेश्वर

मान्छे कतिसम्म निर्दयी र आक्रामक हुन्छ भन्ने कुरा उदयपुरको एक घटनाले प्रष्ट पारिदिएको छ। सामान्य घरेलु विवादले भयावह रूप लिँदा श्रीमानलाई जेलको बाटो र श्रीमतीलाई मृत्युसँगै वियोग गराइदिएको छ।

जीवनभरका सपनाहरू पलभरमै खरानी बनाउने यस घटनाले सबैको मनमा गहिरो पीडा र प्रश्न छोडेको छ।

घटना दुईसाताअघिको हो। असोज २२ गते उदयपुर बेलका नगरपालिकाका दानबहादुर राई र उनका श्रीमती पूर्णकुमारीबिच सामान्य घरायसी झगडा भएको थियो।

बेलुका खाना खान भान्सा कोठा छिरेका उनीहरूबिच घरायसी कुरामा सुरु भएको विवाद झगडामा परिणत भएसँगै दानबहादुरले श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो झोसिदिए।

आगोको लप्कासँगै जलेकी पूर्णकुमारी छटपटाउन थालिन्। दानबहादुर आत्तिँदै आगो निभाउन कोसिस त गरे तर, सकेनन्। हतार हतार छिमेकी गुहारेर उद्धार गरी उनलाई उपचारार्थ विराटनगर पुर्‍याइयो। तर, उपचारकै क्रममा पूर्णकुमारीको आइतबार राति प्राण गयो।

४० वर्षीया पूर्णकुमारीको निधनसँगै ७ वर्षीय छोराको बिल्लिबाठ भएको छ भने श्रीमान् ४८ वर्षीय दानबहादुर प्रहरीको चिसो छिँडीको बास बस्न बाध्य भएका छन्।

बेलका-८ का वडाध्यक्ष जयकुमार राईका अनुसार दुवै जनाले मदिरा सेवन गर्ने गरेका थिए। छिमेकी पूर्व वडा सदस्य समेत रहेका राजबहादुर राईले भने उनीहरूबिच त्यस्तो धेरै झै-झगडा भएको आफूले थाहा नपाएको बताए। सोझो स्वभावका दानबहादुरले श्रीमतीलाई आगो लगाएको खबर पत्याउन गाह्रो भएको पनि उनले सुनाउँछन्।

इलाका प्रहरी कार्यालय रामपुरले घट्नाको भोलिपल्टै दानबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। इप्रका प्रमुख प्रहरी निरीक्षक सुमन उदासले दम्पतीबिच पहिला पनि कहिलेकाहीँ झगडा हुने गरेको र सो दिन पनि विवाद हुँदा आवेशमा आएर घटना भएको हुनसक्ने बताए।

प्रारम्भिक बयानमा दानबहादुरले आगो लगाएको स्वीकार गरेको प्रहरीको भनाइ छ। मार्ने नियतले नभई तर्साउन खोज्दा अप्रिय घटना भएको दानबहादुरले प्रहरी समक्ष बताएका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले सत्य तथ्य अनुसन्धान पुरा भएपछि मात्र थाहा हुने बताए। उनले उपचाररत श्रीमतीको निधन भएकाले अब कर्तव्य ज्यान ऐन अन्तर्गत कारबाही गर्ने प्रक्रिया अघि बढ्ने बताएका छन्।

प्रकाशित: ६ कार्तिक २०८१ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App