६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

जन अपेक्षा अनुसार धेरै काम भए: खानेपानीमन्त्री

<br>

<br>

खानेपानीमन्त्री प्रदीप यादवले जनअपेक्षाअनुसार मन्त्रालयले द्रुतगतिमा काम गरिरहेको बताएका छन्।

मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले मेलम्ची आयोजना सञ्चालनदेखि बाढी प्रभावित क्षेत्रको पुनःस्थापनासम्मका कार्यलाई विशेष ध्यान दिइएको बताए।

मन्त्रालयले स्थलगत निरीक्षण र जनसंवादमार्फत योजनाको प्रभावकारिता सुनिश्चित गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाइएको मन्त्री यादवको दाबी छ।

उनले बडादसैं अगाडि नै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने आफ्नो अठोटअनुरूप मेलम्चीको पानी गत असोज २२ गतेदेखि पुनः सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन थालिएको जानकारी दिए।

“उपत्यकावासीलाई दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालिएको छ”, मन्त्री यादवले भने, “मेलम्ची आयोजनाको पुनःसञ्चालनमा मैले आफैँ मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल गरेर पानी आपूर्तिमा सहयोग गर्न अनुरोध गरेको थिए।”

मेलम्चीको खानेपानी काठमाडौं आएसँगै यहाँको खानेपानी सङ्कट कम गर्न महत्त्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै मन्त्री यादवले आयोजनास्थलमा पुगेर जिम्मेवार अधिकारीहरूलाई प्रक्रिया छिटो पूरागरी काममा तीव्रता दिनसमेत निर्देशन दिएको बताए।

“स्थलगत अनुगमनका क्रममा मलाई जनताका समस्या प्रत्यक्ष बुझ्न र समाधान खोज्न मद्दत मिल्यो”, मन्त्री यादवले भने, “निरीक्षणका क्रममा स्थानीयहरूले सुझाव दिने अवसर पाएका थिए, जसले योजना अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याएको छ।”

पानी आपूर्ति सुधारका लागि मन्त्रालयले काठमाडौं उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरेको मन्त्री यादवले जानकारी दिए।

“स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्रै सात सय किलोमिटर पाइप बिछ्याइएको छ। हामीले पानी अभावको समस्या चाँडै समाधान गर्ने अठोट गरेका छौं”, मन्त्री यादवले भने।

त्यसैगरी, कीर्तिपुर र महाँकालचौरमा ६० लाख र ८० लाख लिटर क्षमताका दुई ठूला ट्याङ्कीहरूको निर्माण सम्पन्न भई ती क्षेत्रमा नियमित आपूर्ति सुरु भइसकेको उनले जानकारी दिए।

मन्त्रालयले सरसफाइ सुधारमा पनि विशेष प्राथमिकता दिएको दाबी गर्दै मन्त्री यादवले असोज महिनामा गएको अविरल वर्षाका कारण धोवीघाट फोहर पानी प्रशोधन केन्द्र डुबानमा परेपछि केही उपकरण अवरुद्ध भएको जानकारी दिए।

उनले तत्काल मर्मत थाल्न निर्देशन दिइएको र बिमा कम्पनीसँग छलफल गरी मर्मत कार्य अघि बढाउने तयारी भइरहेको जनाए। उनले भने, “सरसफाइ व्यवस्थापनमा कुनै सम्झौता हुने छैन। हामीले तुरुन्त समाधानको बाटो खोजिरहेका छौं।”

मन्त्रालयले भेरी पम्पिङ आयोजनालाई गतिदिन चीनको झेजिङ टोलीसँग ठेक्का सम्झौतागरी निर्माण कार्य अघि बढाइसकेको मन्त्री यादवले जानकारी दिए।

उनका अनुसार पोखरा खानेपानी सुधार आयोजनामा भने बाढीका कारण अवरोध सिर्जना भएको छ। मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। यस्तै, मन्त्रालयले देशभरिका विभिन्न जिल्लामा २० वटा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सञ्चालनमा ल्याएको छ।

पुराना योजना मर्मतदेखि नयाँ आयोजना निर्माणसम्मका काम समावेश छन्। मन्त्रालयले यी परियोजनालाई छिटो सम्पन्न गर्नका लागि अतिरिक्त बजेटको व्यवस्थापनका लागि प्रयास गरिरहेको मन्त्री यादवले बताए।

प्रकाशित: ६ कार्तिक २०८१ २०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App