७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

रुपन्देहीमा पूर्व डिआइजी जोशीसँग साढे ७ घण्टा लामो बयान

सुप्रिम पीडित भन्छन्: रवि र छविलाई जस्तै जिबिलाई पनि पक्राउ गर

<br>

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशी (बन्जाडे) सँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले साढे ७ घण्टा लामो बयान लिएको छ।

गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित र अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन।

जोशी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष हुन। सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएको १४ करोड मध्ये साढे २ करोड जोशीको नाममा गएको यसअघि भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

गोर्खा मिडिया मार्फत सुप्रिम सहकारीको रकम अपचलनमा जोशीको संलग्नताका सम्बन्धमा थप अनुसन्धानका लागि बयान लिन उनलाई भैरहवा ल्याइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जनाए। बुधबार उनलाई कास्की पठाइने राठौर बताउँछन्।

मंगलबार बिहान ११ बजेदेखि सुरु भएको जोशीको बयान साँझ ६.३० बजेतिर सकिएको थियो। स्रोतका अनुसार जोशीले कास्कीमा दिएको बयानसँग मिल्दोजुल्दो गरी बयान दिएका थिए। र बारम्बार आफूलाई फसाइएको उल्लेख गरेका थिए।

यसअघि सुर्यदर्शन सहकारी पोखराको रकम अपचलन सम्बन्धमा कास्कीमा जोशीको बयान लिइएको थियो।

सर्वसाधारणले सहकारीमा बचत गरेको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा संसदीय छानबिन समितिको सिफारिसमा पूर्व डिआइजी जोशी गत असोज ६ गते पक्राउ परेका हुन।

कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डिआइजी जोशीलाई सोमबार हवाइमार्गबाट रुपन्देही ल्याइएको थियो। सोमबार र मंगलबार उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा बसे।  

बुटवल मुख्य कार्यालय रहेको सुप्रिम सहकारीका १ हजार ८३१ बचतकर्ताले सहकारीका संस्थापक अध्यक्ष  गितेन्द्रबाबु (जीबी) राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ सहितका पदाधिकारी, संचालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै इप्रका बुटवलमा उजुरी दिएका थिए।

त्यसपछि अनुसन्धान थालिएको थियो। अनुसन्धान प्रतिवेदन अनुसार सर्वसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको छ।

त्यसमध्ये गोर्खा मिडिया नेटवर्कको नाममा मात्रै सुप्रिमबाट १४ करोड बढी रकम सारिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

त्यसमध्ये साढे २ करोड रुपैयाँ गोर्खा नेटवर्कका उपाध्यक्ष रहेका जोशीका नाममा गएको प्रतिवेदनमा उल्लेख छ। सोही मुद्दामा थप अनुसन्धान अगाडी बढाउन जोशीलाई मंगलबार रुपन्देही सरकारी वकिलको कार्यालयमा बयान गराइएको हो। थप अनुसन्धान पछि बल्ल जोशी विरुद्ध पूरक अभियोग दर्ता गर्ने वा नगर्ने भन्ने टुगों लाग्ने अनुसन्धान अधिकृतहरू बताउँछन्।

तत्कालीन समयमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक रहेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको नाममा सुप्रिमबाट २ करोड गएको यसअघिको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

लामिछाने पनि अहिले सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा छन्। उनलाई पनि बयानका लागि भैरहवा ल्याउने बुझिएको छ।

सुप्रिम पीडितको प्रदर्शन

मंगलबार रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा जोशीको बयान चलिरहँदा सुप्रिम पीडितहरू प्रदर्शनमा उत्रिए।

पीडितहरूले ब्यानर सहित सरकारी वकिलको कार्यालयमा प्रदर्शन गर्न खोजेका थिए। तर प्रहरीको अवरोध पछि नजिकै रहेको जिल्ला अदालत अगाडी प्रदर्शन गरे।

सहकारीको बचत रकम फिर्ता गर, सहकारी ठगहरूलाई कारबाही गर, पीडितलाई न्याय दे, रबी, छवि जस्तै जिबीलाई पनि पक्राउ गर लगायतका नारा लगाउँदै सुप्रिम पीडितहरू प्रदर्शनमा उत्रेका हुन।

सुप्रिमका संस्थापक अध्यक्ष तथा संरक्षक गितेन्द्रबाबु राई (जिबी) र बुटवल शाखाका व्यवस्थापक सागर केसी लगायतका अन्य दोषीलाई राजनीतिक संरक्षणमा भगाइएको आरोप सुप्रिम पीडितहरूको छ।

सुप्रिम पीडित सङ्घर्ष समितिका संयोजक विजय नेपालले बचत रकम फिर्ता गर्न पर्ने, रकम अपचलन गर्ने सबैलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने लगायतका आफूहरुको माग रहेको बताए।

२०५७ सालमा बुटवलमा दर्ता भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरी गितेन्द्रबाबु (जीबी) राईले  २०७२ सालको फागुनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाएका थिए।

त्यति बेला मैत्रेय सहकारीको अध्यक्ष बुटवलका ओमप्रकाश गुरुङ थिए। राईले गुरुङलाई सहमत गराएर सहकारीको नाम परिवर्तन गरी आफू अध्यक्ष बने।

सुरुमा राई अध्यक्ष र गुरुङ उपाध्यक्ष थिए। २०७६ मा साधारण सभा गरी गुरुङलाई अध्यक्ष बनाइयो। राई संरक्षक बसे। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सचिव बने। सुप्रिमको मुख्य कार्यालय बुटवलको व्यवस्थापक सागर केसी थिए।

सुप्रिमको केन्द्रीय कार्यालय बुटवल राजमार्ग चौराहमा थियो। भैरहवा र नवलपरासीमा पनि शाखा थिए। सहकारीमा विशेषगरी महिला कर्मचारी राखेर सर्वसाधारणको घरघरै पठाएर दैनिक बचतका लागि ग्राहक बटुल्ने गरिन्थ्यो।

धेरै सदस्य बनाउने कर्मचारीलाई विशेष सुविधाको प्रलोभन देखाइन्थ्यो। टार्गेट मिट नगर्नेलाई जागिरबाट निकाल्ने धम्की दिइन्थ्यो। टार्गेट मिट गर्नै पर्ने दबाबमा कर्मचारीहरूले ठुला देखि साना पसल संचालक, वृद्ध वृद्धा, श्रीमान् विदेश हुने महिलाहरू खोजेर धेरै व्याज र विभिन्न अफरको लोभ देखाएर बचत गर्न लगाउँथे।

त्यसरी बनाएका बचतकर्ताबाट उठाएको ठुलो रकम संस्थापक अध्यक्ष राई, अध्यक्ष गुरुङ, सचिव पुन, व्यवस्थापक केसी लगायतको तजविजिमा सहकारी ऐन र नीति विपरीत अपचलन गर्न थालियो।

जसका कारण सहकारी शंकटग्रस्त बन्दै गयो। बचत रकम अपचलन बढेपछि बचतकर्ताहरुले सहकारीका पदाधिकारी, संचालक र कर्मचारी विरुद्ध २०७९ सालमै प्रहरीमा उजुरी दिन थालेका थिए।

त्यसपछि सुरु भएका अनुसन्धान प्रतिवेदन अनुसार सर्वसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको हो।

त्यही ठगी प्रकरण अन्तर्गतको अनुसन्धानबाट गोर्खा मिडिया नेटवर्कको नाममा सुप्रिमबाट १४ करोड ६ लाख रुपैयाँ गएको खुलेको थियो। जसमध्ये गोर्खा मिडिया नेटवर्कमा तत्कालीन उपाध्यक्ष रहेका पूर्व डिआइजी छविलाल जोशी (बन्जाडे) को नाममा २ करोड ५० लाख र तत्कालीन प्रबन्ध निर्देशक रहेका पूर्व गृहमन्त्री रबी लामिछानेको नाममा २ करोड गएको देखिएपछि उनीहरु दुवै जना रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानमा पनि तानिएका हुन।

गोर्खा मिडिया नेटवर्कले २०७७ को फागुनमा ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो भने २०७८ मा लामिछाने टिभीको प्रबन्ध निर्देशक भएका थिए।

प्रकाशित: ६ कार्तिक २०८१ २१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App