२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सदन अवरोधबारे छलफल गर्न माओवादीले माग्यो एक घण्टाको समय

सभामुखसहित दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन बनेको छ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको सदन अवरोध हटाउनेबारे छलफलमा अझै सहमति जुट्न सकेको छैन।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे भने छलफलका विषयबारे आफ्नो दलमा जानकारी गराउन भन्दै बैठक कक्षबाट निस्किएका छन्।

उनले सभामुख घिमिरेले पनि दलमा थप छलफल गर्न अनुरोध गरेपछि आफू आन्तरिक छलफलमा जाने बताए।

त्यस्तै एमालेका मुख्य सचेतक महेश बर्तौलाले माओवादीले छलफलका लागि एक घण्टाको समय माग गरेको बताए।

भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए।

लगत्तै माओवादी सांसदहरुले विरोध जनाएको र उक्त शब्द असंसदीय भएकाले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए। त्यसपछि सभामुखले सचिवालयसँगको छलफलपछि उक्त शब्द हटाउने कि नहटाउने भन्ने विषयमा निर्णय दिने बताए।

सभामुखले २६ गते बसेको प्रतिनिधि सभा बैठकमा हिंसा शब्द रेकर्डबाट नहटाउने बताएका थिए। त्यसपछि माओवादी सांसदहरुले सभामुखको निर्णयविरुद्ध संसद अवरोध गरेका छन्।

प्रकाशित: ३० भाद्र २०८१ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App