नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रको मूलधार माओवादी आन्दोलन भएको बताएका छन्।
बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्।
उनले माओवादी आन्दोलन वा नेकपा माओवादी मूलधारमा आएपछि भन्ने शब्द प्रयोग भएको भन्दै माओवादी मूलधारमा आएको हो वा माओवादीले मूलधार 'क्रिएट' गरेको हो भन्ने कुरा राजनीतिक बहसको विषय रहेको बताए।
उनले भने ‘यहाँ अघि भनियो, माओवादी आन्दोलन वा नेकपा माओवादी मूलधारमा आएपछि भन्ने शब्द प्रयोग भयो। यो विषय धेरै ठूलो गम्भीर महत्वको छ। हामी मूलधारमा आयौं की हामीले मूलधार 'क्रिएट' गर्यौं भन्ने विषय निकै ठूलो बहसको विषय हो। कुन मूलधार ? संवैधानिक राजतन्त्रवालालाई मूलधार भनेको हो की गणतन्त्रको मूलधार ? गणतन्त्रको मूलधार त माओवादीका कारणले नै जन्मिएको हो।"
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलधार माओवादी भएको बताए। गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी भएको स्मरण गरे।
माओवादीको गणतन्त्रात्मक मूलधारमा अन्य दल आएका हुन् की माओवादी संवैधानिक राजतन्त्रको मूलधारमा गएको हो भन्ने विवाद वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा अहिले पनि रहेको उनको भनाइ थियो।
अध्यक्ष दाहालले जनयुद्धको विषयलाई लिएर माओवादीले बनाएका चलचित्र र टेलिफिल्म जनतामा स्थापित हुन नसकेको उल्लेख गरे। उनले माओवादी नभएकाले बनाउन लागेको सो टेलिश्रृंखला जनताले हेर्ने विश्वास गरे।
उनले पृथ्वीनारायण शाहपछि आम नेपाली जनताको सबैभन्दा ठूलो उपस्थिति भएको आन्दोलन माओवादी आन्दोलन नै भएको जिकिरसमेत गरे।
युरोपतिर भएको भए माओवादी आन्दोलनले नोबेल पुरस्कार पाउने विषय भएको उनको टिप्पणी थियो।
प्रकाशित: २७ भाद्र २०८१ २१:०४ बिहीबार