१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सत्तारुढ दलहरुको बैठकमा के भयो कुराकानी ?

सत्तारुढ दलहरुबीच सरकार र संसद्को कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकार/संसद्को कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट अघि बढाउने विषयमा छलफल भएको नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।

उनले सरकारका समग्र काम प्रक्रियाहरुमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? भन्नेबारेमा पनि छलफल भएको सुनाए।

‘आजको छलफल र बैठकको उद्देश्य भनेको सरकार र संसदको कामलाई कसरी प्रभावकारी ढंगबाट अघि बढाउने, सरकार संसदको कामलाई कसरी सन्तुलित ढंगबाट, व्यवस्थित ढंगबाट अघि बढाउने र सँगै सरकारलाई समग्र काम प्रक्रियाहरुमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? यिनै विषयहरुमा छलफल केन्द्रित थियो। यो सरकार निर्माणका केही समझदारीहरु पनि थिए। विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा ७ बुँदे समझदारी भएको थियो। त्यो समझदारीको जगबाट हामीले सरकार सञ्चालन गर्ने प्रतिबद्धता गरेका थियाैं। न्यूनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन निर्णय भइसकेको छ।’ उनले सुनाए।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा एमाले र नेपाली कांग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमतिको सेरोफेरोमा रहेर विस्तृत रुपमा सरकारका न्यूनतम साझा कार्यक्रम बनाउने बताए।

उनले सात बुँदे सहमतिलाई अझ विस्तृत गर्नेगरी सरकारको न्यूनतम साझा कार्यक्रम आउने उल्लेख गरे। प्रमुख सचेतक घिमिरेले संविधान संशोधनमा बढी भन्दा बढी राजनीतिक दलहरुको सहमति जुटाएर संशोधन गर्ने पनि जनाए।

प्रकाशित: २४ भाद्र २०८१ २०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App