३ आश्विन २०८१ बिहीबार
image/svg+xml
विचार

आत्महत्या होइन हत्या

फाइल तस्वीर

शाब्दिक अर्थमा भन्ने हो आफैँले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ। प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नभन्दा मर्न सजिलो लागेर मानिसले आत्महत्या गर्छन्। तर कतिपय अवस्थामा मानिसले रिस र आवेगमा आएर पनि आत्महत्या गरेको देखिन्छ। तर आत्महत्याको अन्तर्य यति सतही छैन, निकै गहिरो र गम्भीर छ।

पहिला आत्महत्याको विश्वव्यापी तथ्यांक हेरौँ– विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०२१ मा विश्वका करिब सात लाख २६ हजार मानिसले आत्महत्या गरेका देखिन्छ। अमेरिका जस्तो विकसित मुलुकमा समेत हरेक ११ मिनेटमा एकजना व्यक्ति आत्महत्या गर्ने गरेको पछिल्लो तथ्यांकले देखाउँछ।

त्यसो त निम्न र मध्यम आय भएका देशहरूमा आत्महत्याको दर बढी छ। विश्वको ७३ प्रतिशत आत्महत्या गरीब देशहरूमा हुने गर्छ भने आत्महत्या अहिले मृत्युको एक प्रमुख कारण बनेको छ। र, १५ देखि २९ वर्ष समूहका व्यक्तिहरूको मृत्युको तेस्रो कारण आत्महत्या हो।

कारण

आत्महत्याका विविध कारण हुन सक्छन्। तर आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याबाट पीडित हुने अध्ययनले देखाएका छन्। तर सबै मानसिक समस्याले आत्महत्या तथा आत्मक्षति गर्छन् नै भन्ने छैन। १५ देखि २० प्रतिशत डिप्रेसनमा परेका व्यक्तिले आत्महत्याको प्रयास गर्छन्। डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक समस्याका कारणले पनि मानिसले आत्महत्या गर्छन्।

प्रायः उद्विग्न बनाउने मनोसामाजिक कारणहरूले गर्दा मानिसले आत्महत्या गर्न सक्छन्। जस्तो कि गम्भीर तथा पीडादायक शारीरिक रोगहरू (क्यान्सर तथा एड्स आदि) , परीक्षामा असफलता, प्रेममा विछोड तथा असफलता, कष्टदायक वैवाहिक जीवन,  अनिच्छित गर्भ, व्यापार–व्यावसायमा घाटा तथा क्षति, धेरै ऋण, सामाजिक अपमान तथा बहिष्कार, आत्मसम्मानमा ठेस (जस्तै– झुटो आरोप, उपेक्षा, लाञ्छना, जागिरबाट बर्खास्तगी, अरूको सामु बेइज्जत आदि।)।

प्रियजन तथा आफन्तको मृत्यु, मानसिक अन्तद्र्वन्द्व, मद्यपान तथा दुव्र्यसन, पारपाचुके तथा आपसी सम्बन्धमा तनाव तथा कुटता, यौन समस्या, दाइजोसम्बन्धी समस्या, घरेलु हिंसा तथा पारिवारिक कलह,  बेरोजगारी तथा आर्थिक समस्या, बलात्कारको पीडा, आत्महत्याको पारिवारिक इतिहास आदि पनि कारक बन्छन्।

आत्महत्याको पाटो

पहिलो– मानिस मात्र होइन कुनै पनि प्राणी मर्न डराउँछन्। मानिसको सबैभन्दा ठूलो डर भनेको नै मृत्यु हो तर मर्नभन्दा बाँच्न गाह्रो भयो वा त्यस्तो महसुस भयो भने मानिसले आत्महत्या गर्छन्। तर आत्महत्याको अन्तर्यलाई गहनरूपमा बुझ्ने हो भने आत्महत्या भन्ने नै हुँदैन, मनोवैज्ञानिक दृष्टिमा त्यो हत्या नै हो।

एउटा उदाहरण हेरौँ– कुनै गरिब किसानले समयमै मल पाएन, ऋण र भोकमरीको पिर र पीडाले उनलाई बाँच्न निकै गाह्रो भयो। अनि ऊ रुखमा झुण्डियो। के यो आत्महत्या हो ? अर्को उदाहरण लिउँ– कुनै व्यक्ति अन्यायमा परेर न्याय खोज्न अदालत गयो तर न्यायाधीशले घुस खाएर उनलाई नै अपराधी बनाइदियो। जेलभित्र नै ऊ घाँटी रेटेर म¥यो। के यो आत्महत्या हो?

 अर्को उदाहरण– कुनै युवतीलाई पूर्वप्रेमी वा कसैले उनीसँग खिचेको फोटोको आडमा ब्ल्याकमेल गरेर मर्नु न बाँच्नु बनाइरह्यो। अनि उनी बेइज्जतीको डर र पीडा सहन नसकी नदीमा हामफालिन्। के यो आत्महत्या हो ?

निश्चित रूपमा होइनन्, तीनै उदाहरण हत्याका नै हुन्। यस किसिमका हरेक हत्यामा परिवार, समाज तथा राज्यको प्रत्यक्ष/परोक्ष रूपमा कुनै न कुनै संग्लनता हुन्छ। जुन हातले व्यक्तिले आफ्नो गला दबाएका हुन्छन्, वास्तवमा ती हात स्वयं उनका हुँदैनन्, अरू कसैका हुन्छन्।

यो नै आत्महत्याको अन्तर्य हो। तर समयमै मल नपाएर ज्यान फालेका कृषकको हत्याको आरोपमा सरकार वा कृषि मन्त्रीलाई जेल नै हाल्नुचाहिँ फेरि व्यावहारिक देखिँदैन। तर सरकार तथा कृषि मन्त्रीले हाम्रो कारण कृषकले ज्यान फाल्नुपरेको हो भन्ने महसुस गर्दै नैतिकता भने देखाउनुपर्छ।

दोस्रो– हरेक व्यक्तिको व्यक्तित्व फरक फरक हुन् सक्छ। तनाव बहन गर्न सक्ने समाथ्र्य र तनावपूर्ण घटनाहरूलाई हेर्ने दृष्टिकोण पनि फरक हुन सक्छ। त्यसैले एकै प्रकृतिको घटनालाई कुनै व्यक्तिले सहजै पार लगाउँछन् भने त्यही घटनाले कुनै व्यक्ति मरुँ कि बाँचुको अवस्थामा पुग्छन्।

वास्तवमा कोमल, संवेदनशील, नकारात्मक सोच राख्ने, बढी भयभित हुने तथा कमजोर मानसिकता भएका व्यक्ति डिप्रेसन लगायतका मानसिक समस्यामा पर्ने देखिन्छ। यस किसिमको मानसिक अवस्थाका व्यक्ति आत्महत्याको उच्च जोखिममा हुन्छन्।

राज्यले बुझ्नुपर्ने कुरा के हो भने आत्महत्या तथा आत्महत्याको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानेर वा धार्मिक दृष्टिमा आत्महत्या गर्ने मानिस सिधै नर्कमा जान्छन् भनेर न्यूनीकरण हुनेवाला छैन। यस मनोसमाजिक समस्याको न्यूनीकरण गर्न यसको अन्तर्य बुझेर त्यहीअनुसार समाधान मार्ग अपनाउन आवश्यक छ।

– बानियाँ साइकोथेरापिस्ट हुन्।

प्रकाशित: १ आश्विन २०८१ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App