१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

आमरण अनशन बस्ने पूर्व मुख्यमन्त्री कार्कीको घोषणा

पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गर्दै पूर्व मुख्यमन्त्री केदार कार्की । तस्बिरःचुमन बस्नेत / नागरिक

कोसी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन बस्ने घोषणा गरेका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी कार्कीले भदौ २५ गते(मंगलबार) दिउँसो ४ बजेदेखि आमरण अनशन बस्ने घोषणा गरेका हुन् । 

पूर्व मुख्यमन्त्री कार्कीले आफ्नो पालाको सरकारले ल्याएका जनतालक्षित कार्यक्रमहरू अहिलेको सरकारले कटौती गरेको भन्दै  बजेट सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका थिए । मुख्यमन्त्री कार्कीले जनताका पक्षका कार्यक्रमहरू १० वर्ष मुनिका बालबालिकाहरूको बिशिष्टकृत सेवासहितको  निःशुल्क उपचार, शैलजा आचार्य ह्दयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रोत्साहन भत्ता, सुनसरी–मोरङ केशलिया करिडोर निर्माण, डाक्टर, इन्जिनियर,कृषि र प्राविधिक,  शिक्षाका विद्यार्थीलाई  छात्रवृत्ति लगायतका कार्यक्रमलाई निरन्तरता दिन माग गरेका छन् ।

पूर्व मुख्यमन्त्री कार्कीले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आइतबार ४८ घण्टे अल्टिमेटम पत्र बुझाएका थिए । मुख्यमन्त्री कार्कीले आफूले जनताको पक्षमा आन्दोलन घोषणा गरेका कारण जनताको साथले सफल हुने दाबी गरेका छन् । कार्कीले भने‘जनताको पक्षका कार्यक्रम सञ्चालनका लागि आन्दोलन सुरु गर्न लागेका कारण जनताकै सहयोग र आशीर्वादबाट आन्दोलनले सफलता पाउने छ ।’ पूर्व मुख्यमन्त्री कार्कीले हालका मुख्यमन्त्रीसँग कुनै झगडा र दुस्मनी नभएको स्पष्ट पारेका छन् । कार्कीले सत्तापक्षमा रहेर पनि कांग्रेसले सरकारकै विरुद्धमा आन्दोलन गरेको इतिहास भएका कारण सरकारमा हुँदैमा आन्दोलनमा उत्रन नहुने र गलत कुराको विरोध गर्न नहुने भन्ने नभएको स्पष्ट पारे । 

प्रकाशित: २४ भाद्र २०८१ १९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App