१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कर्मचारीलाई कार्यालयमा सेयर कारोबार निषेध गर्न अख्तियारको पत्र

सरकारले सरकारी कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रबाट सेयर कारोबार गर्न रोक लगाउने तयारी गरेको छ। 

राष्ट्रसेवक कर्मचारीहरू कार्यालयभित्रै बसेर सेयर कारोबारमा सक्रिय हुँदा दैनिक कार्यसम्पादन नै प्रभावित भएको निष्कर्ष निकाल्दै सरकारले यस्तो तयारी गरेको हो। कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रैबाट सेयर कारोबार गर्न रोक लगाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आइतबार पत्र पठाएको छ।

पत्रमा कार्यालयमा बसेर सेयर कारोबार गर्ने कर्मचारीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ। अख्तियारको पत्र प्राप्त भएपछि सरकारले कार्यालय समयमा कार्यालयबाट सेयर कारोबार गर्न रोक लगाउने विषयमा अध्ययन प्रक्रिया अघि बढाएको छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले अख्तियारबाट प्रधानमन्त्री कार्यालयमा कार्यालय समयमा कार्यालयभित्रैबाट सेयर कारोबार गर्ने कर्मचारीमाथि अनुगमन गरी यस्तो कार्यमा रोक लगाउनुपर्ने बेहोरासहितको चिठी प्राप्त भएको जानकारी दिए।

उनले भने, ‘अख्तियारबाट चिठी आइसकेपछि हामीले यस विषयमा के गर्ने, कसरी अघि बढ्ने भन्नेबारेमा छलफल थालेका छौं । अहिले यो विषय छलफलकै क्रममा छ।’ कर्मचारीहरू कार्यालयको कामभन्दा सेयर खरिदबिक्रीमा व्यस्त हुने गरेको पाइएको, यसबाट सरकारी काम तथा सेवा प्रवाहमा अवरोध आएको र सरकारी सम्पत्तिको समेत व्यापक दुरूपयोग भएको उजुरी अख्तियारमा परेको छ। उजुरीका आधारमा अख्तियारले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलाई कार्यालयभित्रबाट हुने सेयर कारोबारमा रोक लगाउनुपर्ने बेहोरासहितिको चिठी पठाएको हो।

स्रोतका अनुसार अख्तियारको चिठी प्राप्त भएपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले आइटी शाखाका प्राविधिकसँग सोमबार छलफल गर्ने भएका छन्। एक प्राविधिक कर्मचारीका अनुसार सरकारी कार्यालयबाट सेयर कारोबार गर्न नसक्नेगरी अथवा सेयर एप खुल्न नसक्नेगरी सिस्टम बनाउन सकिन्छ । कार्यालय समयमा कर्मचारीले कार्यालयबाट सेयर कारोबार गरेनगरेको सिस्टमबाट पनि अनुगमन गर्न सकिन्छ।

‘सरकारी कर्मचारीले सेयरको कारोबार गर्नु हुँदैन भन्ने छैन तर कार्यालय समयमा कार्यालयबाट यस्तो कारोबार गर्न मिल्दैन’, मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय एक उच्च कर्मचारीले भने, ‘सेवा प्रवाहमा अवरोध हुनेगरी कर्मचारीले सेयर कारोबार गर्न मिल्दैन ।’

कार्यालय समयमा कार्यालयबाटै सेयर कारोबार गर्ने कर्मचारीमाथि कुन कानुनअन्तर्गत कारबाही गर्ने भन्ने विषयमा पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीले छलफल थालेका छन्। निजामती सेवा ऐनमा कर्मचारीको आचरणसम्बन्धी व्यवस्थामा कर्मचारी व्यापार, व्यवसयमा संलग्न हुनुपरेका सरकारसँग स्वीकृति लिनुपर्ने व्यवस्था छ । सेयर कारोबारलाई पनि व्यापार, व्यवसायका रूपमा व्याख्या गरेर कार्यालय समयमै कारोबार गर्ने कर्मचारीलाई कारबाही गर्ने अथवा कारोबार गर्नै नदिने सरकारको तयारी छ।

मुलुकको प्रमुख प्रशासकीय केन्द्र रहेको सिंहदरबारभित्रका कार्यालयहरूमा काम गर्ने कर्मचारीहरू सरकारी काममा भन्दा निजी आम्दानीका लागि सेयर कारोबारमा व्यस्त हुने गरेका छन्। कार्यालयमा जाने सेवाग्राहीले पनि यस्तो महसुस गरेका छन्। सिंहदरबारबाहिरका कार्यालयहरूमा पनि यो समस्या निकै जटिल बनेको अख्तियारमा दर्ता गरिएको उजुरीमा उल्लेख गरिएको छ। उजुरीमा सरकारी कार्यालयबाट हुने यस्तो  कारोबारमा रोक लगाउन भनिएको छ।

खासगरी तल्लो तहका कर्मचारीहरू कार्यालय समयमा कार्यालयबाटै सेयर कारोबार गर्छन्। उनीहरूले व्यापक रूपमा सरकारी साधनस्रोतको दुरूपयोग गरिरहेको उजुरी अख्तियारमा परेको छ। सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, आयोग, विभिन्न निकाय तथा अन्य कार्यालय छन्। त्यहाँ पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। राष्ट्रिय सतर्कता केन्द्रका एक कर्मचारी भन्छन, मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीसमेत सेयर कारोबारमा बढी व्यस्त भएको देखियो। यस्तो समस्या अहिले एकदमै बढेको छ।’

प्रकाशित: २४ भाद्र २०८१ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App