३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

गृहमन्त्री लेखक र विश्व बैंक पदाधिकारीबिच भेटवार्ता

गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ।

गृहमन्त्रीको कार्यकक्षमा शुक्रबार भएको भेटमा गृहमन्त्री लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक सिस्लेनसहितका पदाधिकारीबिच भेटवार्ता भएको हो।

उनीहरुबिच विश्व बैंकले नेपालको विभिन्न परियोजनामा लगानीबारे छलफल भएको थियो। २०७२ को भूकम्पपछिको पुननिर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले समयमै पुनर्निर्माण गर्ने कुरामा सहयोग पुगेको गृहमन्त्री लेखकले बताए।

विश्व बैंकले नेपाललाई ऋण दिँदा पुरा गर्नुपर्ने विभिन्न कार्य मध्ये पूर्वकार्य गर्नु बाँकी रहेकोको सिस्लेनले चासो राखेका थिए।

‘ऋणको अन्तिम किस्ता लिनुपूर्व गर्नुपर्ने पूर्वकार्य बाँकी छ। विपद् संवेदनशील सामाजिक सुरक्षा तथा अनुदान वितरण मापदण्ड पास गरिसकेपछि ऋणको अन्तिम किस्ता दिने गरिन्छ। यो ढिला भयो। विपद् व्यवस्थापनका क्षेत्रमा नेपाललाई चाहिने वित्तीय सहयोग गर्न तयार छौं,’ उनले भने।

गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नु काममा कुनै ढिलाइ नहुने प्रतिबद्धता व्यक्त गरे। उनले अहिलेसम्म विश्व बैंकले गरेको योगदानका लागि धन्यवाद दिए।

विपद् व्यवस्थापनका लागि ऋण भन्दा पनि बढी अनुदान सहयोगका लागि गृहमन्त्री लेखकको जोड थियो। ‘जलवायु परिवर्तन हामीले सिर्जना गरेको होइन। त्यसबाट भएको क्षति, नोक्सानी, पुनर्निर्माणका लागि हामीले ऋण मात्र बोकेर कसरी विपद् व्यवस्थान गर्न सक्छौं ? त्यसैले अनुदानका परियोजनाहरु बढाउनु पर्‍यो,’ उनले भने।

प्रकाशित: २१ भाद्र २०८१ १७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App