३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेश निजामती सेवा ऐन संधोधन विधेयक सर्वसम्मतले पारित

कोशी प्रदेशसभाको बुधबारको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले सदनमा विधेयक पेश गरेका थिए ।

सो प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गरेपछि सर्वसम्मतले पारित गरेको हो । विधेयक पारित हुनु अगाडि विधेयक संशोधन प्रस्ताव दर्ता गरेका प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी, इन्द्रमणि पराजुली, कमलप्रसाद जवेगु र गोम्बू शेर्पाले संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

उनीहरुको प्रस्तावलाई आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले ऐनलाई समृद्ध बनाउन संशोधनकर्ताहरुको सुझावलाई स्वीकार गरेको बताए । उनले ऐन बनाउने कार्य जटिल र चुनौतीपूर्ण भएको उल्लेख गरे । विधेयकमा प्राप्त बुँदागत सुझावलाई सरकारले ग्रहण गरेको र सरकारले स्वास्थ्य सेवा ऐन अलग्गै ल्याउने जानकारी दिए ।

उनले रचनात्मक सुझावलाई परिमार्जन एवं परिस्कृत गर्दै आएको ऐनले निजामती कर्मचारीमा उत्साह बढ्ने विश्वास व्यक्क्त गरे।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट विद्या चाम्लिङ्गले विशेष समयमा बोल्दै सरकारले हालसम्म पूर्णता नपाउँदा जनताका काममा समस्या भएको बताए ।

उनले सरकारले सञ्चालन गरेका योजनाको गुणस्तर कायम गर्न अनुगमन र निरीक्षण प्रक्रियालाई कसिलो बनाउन सुझाव दिए । उनले भने, ‘लामो समयदेखि सरकारले पूर्णता नपाएकाले अस्तव्यस्त भएको छ ।

कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले हालै सोलुखुम्बू जिल्लामा हिमताल फुटदा थामे गाउँको आधारभूत विद्यालय क्षतविक्षत भएकाले बाढी र पहिराले जनताका आधारभूत आवश्यकताका संरचनाहरु नष्ट भएको बताए ।

उनले ताल फुटेर आएको बाढीले सडक, पुल र मानवबस्तीमा ठूलो क्षति भए पनि सङ्घीय सरकार र प्रदेश सरकारबाट तत्काल राहत वितरण भएकामा धन्यवाद दिए।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य रामप्रसाद महतो, होमबहादुर थापा, शोभा चेम्जोङ्ग र प्रदीप सुनुवारले मुलुकको समसामयिक विषयमा आफ्ना धारणा राखे । प्रदेशसभाको अर्को बैठक भदौ २५ गते अपराह्न २ बजे बस्ने जानकारी गराउँदै प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले बुधबारको बैठक समापन गरे ।

प्रकाशित: १९ भाद्र २०८१ १८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App