३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टीको सुझाव कार्यान्वयनका लागि सरकारलाई दबाब दिइनेछ: एमाले

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले पार्टीले बुझाएको ध्यानाकर्षण पत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ ।

मङ्गलवारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा महासचिव शङ्कर पोखरेलले पेस गरेको वार्षिक कार्य योजनामा सो विषयमा पहलकदमी लिने उल्लेख गरिएको हो ।

पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र, त्यसपछि झुलाघाट–चिवाभञ्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषयहरूको कार्यान्वयनमा निरन्तर पहल गर्नका लागि प्राथमिकता दिने कुरालाई महासचिव पोखरेलद्वारा प्रस्तुत वार्षिक कार्य योजनामा विशेष जोड दिइएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिए ।

त्यसै गरी कार्य योजनामा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, पार्टीको युवा परिचालन नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने, पार्टी मुख्यालय भवन निर्माणका लागि समिति बनाएर त्यस कामलाई अघि बढाउने, पार्टी कमिटीको नै मूल्याङ्कन विधिलाई अघि बढाउने लगायतका एजेन्डाहरू समावेश गरिएको छ । सरकारले गरेका राष्ट्रिय हित र जनसरोकारका विषयहरूलाई जनतामा स्थापित हुने गरी लैजाने विषयलाई पनि पार्टीले जोड दिएको प्रचार विभाग प्रमुख गौतमले बताए।

 एमाले पोलिटब्युरो बैठक भदौ १९ गते (भोलि) बिहान ११ बजेका लागि बोलाइएको छ । मंगलबार बैठकमा पेस गरिएको महासचिव पोखरेलको वार्षिक कार्य योजनामाथि छलफल गर्न सो बैठक बोलाइएको पार्टीको प्रचार तथा प्रकाशन विभागले जनाएको छ । विभागका प्रमुख गौतमले सो बैठकले समसामयिक परिस्थितिबारे पनि ठोस प्रस्ताव पारित गर्ने बताए । 

प्रकाशित: १८ भाद्र २०८१ १९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App