३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारलाई बालेनको चुनौती: म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेकपा एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माले बालश्रम शोषण गरेको विषयमा आफू गलत भए समाउन सरकारलाई चुनौती दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, 'पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार। म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ।'

मेयर शाहले सांसद शर्माले बालश्रम शोषण गरेको तर एमालेले कारबाही नगरेको बताउँदै आएका छन्। उनले सांसद शर्मालाई कारबाही गर्न माग गरेका छन्। 

जेठ १४ गते काठमाडौं महानगरको टोली लुम्बिनी प्रदेशसभा सांसद रेखा कुमारी शर्माको धुम्बाराहिस्थित घरमा पुग्यो। शर्माको घरमा बालश्रमीक छन् भन्ने विशेष सूचनाको आधारमा महानगरको टोली उनको घरमा पुगेको थियो। नभन्दै शर्माको घरमा काम गर्न बसेकी करिब १४ वर्षीया बालिकालाई महानगरको टोलीले भेटायो।

आठ वर्षदेखि बालिका शर्माको घरमा बालश्रम गर्दै आइरहेको महानगरको टोलीको भनाइ छ। शर्माको घरमा आएदेखि बालिकालाई घर जान पनि नदिएको र आमाबुबासँग पनि भेट्न नदिएको बताइएको छ।

शर्माले आफूलाई घरमा खाना पकाउन लगाउने, घर सफा गर्न लगाउने, लुगा धुन लगाउने जस्ता कामहरू लगाउने गरेको बालिकाले बताएकी थिइन्। शर्माको घरको सबै काम आफूले गर्ने गरेको बालिकाले बताएकी थिइन्।

काठमाडौँमा राखेर पढाइदिने भन्दै सांसद शर्माले बालिकालाई काठमाडौं ल्याएकी थिइन्।

बालिकाको उद्धारपछि महानगरको टोलीले प्रहरी परिसर टेकुमा शर्माविरुद्ध बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुने कसुर अन्तर्गत शर्माविरुद्ध जाहेरी दर्ता गरेको छ। 

प्रकाशित: १८ भाद्र २०८१ १७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App