ताप्लेजुङमा २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुनेको संख्या क्रमशः घट्दै गएको पाइएको छ।
गर्भजाँच गराउन स्वास्थ्य संस्थामा आउने संख्यालाई आधार मानेर हेर्दा आर्थिक बर्ष २०७९/८० को तुलनामा आव २०८०/८१ मा २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुनेको संख्या घट्दै गएको देखिएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार आव २०८०/८१ मा २० बर्षभन्दा कम उमेरका २ सय ८२ जनाले गर्भजाँच गराएका छन्।
आव २०७९/८० मा २० वर्षभन्दा कम उमेरका ३ सय ७० जनाले गर्भजाँच गराएका थिए। यो उमेर समूहका घरमा प्रसुति हुनेको संख्या भने आव २०७९/८० भन्दा आव २०८०/८१ मा बढी देखिएका छन्। दुलालका अनुसार आव २०७९/८० मा २० वर्ष मुनिका २८ जना घरमै प्रसुति भएका थिए। आव २०८०/८१ मा भने ३० जना घरमै प्रसुति भए। सामान्यतया दक्ष प्रसुतिकर्मी,दक्ष स्वास्थ्यकर्मी र अन्य स्वास्थ्यकर्मीबाट प्रसुति गराउउँदा स्वास्थ्य जोखिम कम हुन्छ।
२०७५ साल भदौ १ गतेबाट लागु भएको मुलुकको देवानी संहिताको परिच्छेद १ मा विवाह सम्वन्धी व्यवस्था उल्लेख छ। प्रचलित कानुनमा विवाह गर्ने उमेर कम्तिमा २० वर्ष हुनुपर्ने उल्लेख छ। २० वर्ष नपुग्दै विवाह गरेमा बाल विवाहको कसुरमा सजाय गरिँदै आएको छ। शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि कानुनी रुपमै उमेरको हदबन्दी लगाइएको हो।
तर यो उमेर हद हटाउनुपर्ने बिषय समेत बहसको रुपमा आउन थालेको छ। संसदमै पनि यो बिषयले प्रवेश पाएको थियो। जानकारहरुका अनुसार कमै उमेरमा सन्तान जन्माउँदा आमा तथा शिशुको मृत्यु हुने जोखिम उच्च हुन्छ। अपांगता भएका सन्तान जन्मन सक्छन्।
बालविवाहपछि उनीहरुले स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमाउँछन्। विवाहपछि बालवालिकाको पढाइ बिग्रने तथा बिरामी हुने,छिटो विवाह गर्दा छिटो बच्चा जन्मने,बालबालिकाको मानसिक शक्तिको विकास हुनबाट वञ्चित हुने समस्या समेत आउन सक्छ।
यस्तै गर्भावस्था तथा सुत्केरी हुँदा घरपरिवारबाट सहयोगी व्यवहारको कमी हुने,शारीरिक तथा मानसिक विकास नहुने र व्यवहारिक कुरा बुझ्न नपाउँदै जीवन बर्बाद हुन सक्ने जोखिम भएकोले उमेर नपुगी विवाह र बच्चा जन्माउन कठिन हुने जानकारहरुको तर्क छ।
प्रकाशित: १२ भाद्र २०८१ १४:२९ बुधबार





