नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले कोसी प्रदेश सरकारमा सहभागी हुने बारेमा केही पनि थाहा नभएको प्रतिक्रिया दिएका छन्।
मंगलबार नागरिकसँग कुरा गर्दै तामाङले केन्द्रबाट कुनै पनि निर्देशन नआएका कारण कोसी प्रदेश सरकारमा सहभागी हुने–नहुने कहिले हुने भन्नेबारेमा केही पनि थाहा नभएको तामाङले बताए ।
तामाङले नेपाली कांग्रेसका केन्द्रीय नेताहरू छलफलमा भएको जानकारी पाएको भए पनि त्यसपछि प्रदेशलाई कुनै पनि निर्देशन नआएका कारण कोसी प्रदेश सरकारमा सहभागी हुने/नहुने अझै टुंगो नलागेको स्पष्ट पारे । ‘आज सम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन’ तामाङले भने‘सरकारमा सहभागी हुने–नहुने, संसदमा सत्तारुढ तर्फ बस्ने की कता बस्ने, संसदको बैठकमा सहभागी हुने–नहुने हामी अन्योलमा परेका छौं ।’
भदौ १४ गतेलाई दलिय सहमतिकै आधारमा प्रदेशसभा बैठक बोलाइएको भए पनि केन्द्रले निर्णय नगरिदिँदा अलमलमा परेको तामाङले बताए । यद्यपी प्रदेश स्तरबाट चाँडो निर्णय गर्न पहल भने भइरहेको तामाङले बताए । उनले प्रदेशसभा बैठक सुरु हुनु पहिले नेपाली कांग्रेस कोसी प्रदेशको संसदीय दलको बैठक बसेर संसदमा उपस्थित हुने/नहुनेबारे आवश्यक निर्णय गर्ने तयारी गरिएको जानकारी दिए ।
कोसी प्रदेशमा सरकारमा सहभागी हुनु अघि मन्त्रालय थप गर्ने विषयमा टुंगो लागि नसकेका कारण कांग्रेसले सरकारमा जान ढिलाइ गरिरहेको चर्चा चले पनि मन्त्रालय थप गर्ने विषयमा के भइरहेको छ भन्ने पनि प्रदेशलाई जानकारी नभएको तामाङले बताए । कांग्रेस र एमालेबिच केन्द्रमा गठबन्धन भएपछि अन्य प्रदेशमा कांग्रेस सरकारमा सहभागी भइसके पनि कोसी प्रदेशमा अझै सहभागी भएको छैन ।
प्रकाशित: ११ भाद्र २०८१ २०:२४ मंगलबार