१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीमा चुनावी चटारो, पदाधिकारी र पोलिब्युरो सदस्य छानिँदै

गएको असार १६ देखि २० गतेसम्म सम्पन्न भएको नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा पदाधिकारीमा सहमति जुट्न नसकेपछि त्यसयता सहमतिको प्रयास चलिरहेको थियो । 

लामो समयसम्म सहमति जुट्न नसकेपछि मंगलबार पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुने भएको छ । यसका लागि मंगलबार मतदानको कार्यक्रम राखिएको छ । जसमा कुल १८ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्यका लागि मतदान भइरहेको जनाइएको छ । बरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध चयन भइसकेका छन् ।

यसकारण थप १७ जना पदाधिकारीमध्ये महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्तीदेवी राई चुनावी मैदानमा छन् । यस्तै मधेसी उपाध्यक्ष तर्फ धर्मनाथप्रसाद साह र रामचन्द्र झाबीच निर्वाचन हुने भएको छ । यस्तै ४ जना खुला उपाध्यक्षका लागि ११ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमा ललितबहादुर बस्नेत, गंगालाल तुलाधर, भानुभक्त जैसी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम प्रसाद बास्कोटा छन् ।

चारजनाका लागि भइरहेको उपमहासचिव पदको निर्वाचनमा पनि १९ जना प्रतिस्पर्धामा छन् । जसमा लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई महेश रेग्मी, देउमान सम्वाहाम्फे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्मरबहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, गरिमा शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्का प्रतिस्पर्धामा छन् । 

यस्तै दलितर्फको सचिवमा निरादेवी जैरु, गणेशबहादुर विश्वकर्मा र कृष्णबहादुर नेपाली प्रतिस्पर्धामा छन् । यस्तै आदिवासी जनजाती समुदायबाट बलदेव चौधरी, राजन राई र टोकबहादुर तामाङ चुनावी मैदानमा छन् । 

यस्तै पाँचवटा पद रहेको खुल्ला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ । यस्तै १०५ पोलिटब्युरो सदस्यका लागि २०३ जनाको उम्मेदवारी छ । यसअघि असारमा सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरेको थियो । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए। 

यसपछि लामो रस्साकस्सीपछि आइतबार मात्रै केन्द्रीय समिति बैठकले २५१ जनालाई केन्द्रीय समितिमा चयन गरेको थियो । तर, पदाधिकारी र पोलिटब्युरोमा सहमति नजुट्दा मतदानमा जानुपरेको जनाइएको छ ।

प्रकाशित: ११ भाद्र २०८१ १६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App