२१ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

गैरआवासीय नेपाली विश्व सम्मेलनः एकता र समृद्धिमा छलफल केन्द्रित हुने

सम्मेलन फागुन ३० देखि चैत २ सम्म

गैरआवासीय नेपालीहरूसँग सम्बन्धित विषयमा सम्पर्क निकायको भूमिका निर्वाह गर्दै आएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि चैत २ गतेसम्म ९१४–१६ मार्च २०२६० काठमाडौंमा आयोजना हुने जनाएको छ।  

“Our Unity, Base for Prosperity” भन्ने नारासहित आयोजना हुने उक्त सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भइसकेको छ। आयोजक समितिको सचिवालयको जिम्मेवारी गैरआवासीय नेपाली संघको सचिवालयले नै निर्वाह गर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन तथा महाधिवेशनको तयारी कार्य क्रमशः अघि बढिरहेको छ।  

सन् २००३ मा “नेपालीका लागि नेपाली” भन्ने मूल नारासहित सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै आएको छ। विदेशमा आर्जन गरिएको ज्ञान, सिप, पुँजी र प्रविधिलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यका साथ स्थापना भएको संघ आज स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूको आशा र भरोसाको केन्द्र बनेको मन्त्रालयले जनाएको छ।  

संघको १०औँ र ११औँ महाधिवेशनपछि देखिएका संगठनात्मक जटिलताहरूलाई संवाद र सहकार्यको माध्यमबाट समाधान गर्दै २०२५ नोभेम्बर ३० मा सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीको रोहबरमा ऐतिहासिक एकता सम्पन्न भएको थियो। यसले संघको स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको मन्त्रालयको भनाइ छ।

आगामी सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, संविधानले प्रदान गरेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सिप तथा प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्ताका विषयमा विविध सत्रमार्फत छलफल हुनेछ। सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, गैरआवासीय नेपाली अभियन्ता तथा स्वदेशी–विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनमा सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई उत्साहपूर्ण सहभागिताका लागि आह्वान गर्नुका साथै सम्मेलन सफल बनाउन सञ्चारकर्मीहरूलाई समेत सहयोगका लागि विशेष अनुरोध गरेको छ।

प्रकाशित: १९ माघ २०८२ १७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App