२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्वास्थ्य र शिक्षाले भ्रष्टाचार बढायो : नैनसिंह महर

नेपाली कांगेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको शिक्षा र स्वास्थ्य भ्रष्टाचारको जननी भएको बताएका छन् । टीकापुरस्थित कृषि तथा वन विज्ञान विश्व विद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजले शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीको शिक्षा विभाग प्रमुख समेत रहेका महरले शिक्षा र स्वास्थ्य महँगो भएकाले मानिस भ्रष्टाचार गर्न प्रेरित हुने गरेको बताए ।

‘स्वास्थ्य र शिक्षा दुवै महँगो छ। छोराछोरी बिरामी भए उपचार गर्नै पर्‍यो । उनीहरूलाई राम्रो शिक्षा दिनै पर्‍यो । अभिभावकसँग त्यो अनुसारको पैसा हुँदैन’उनले भने–‘अनि त्यस्तो मौका पायो भने भ्रष्टाचार गरेर भए पनि पैसा कमाउने तिर लाग्छन्।’

उनले स्वास्थ्य र शिक्षालाई निःशुल्क गरेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्यान्वयनमा लैजान सके भ्रष्टाचार कम हुने बताए। 

उनले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खालको शिक्षाको आवश्यकता रहेको बताए । उनले नेपालको विद्यमान शिक्षाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसक्ने बताए । 

उनले २०४६ सालको परिवर्तन पछि सुधारोन्मुख अवस्थामा गएको नेपालको शैक्षिक अवस्था २०६२/०६३ को परिवर्तन पश्चात् झन् बिग्रिएको बताए । ‘२०४६ पछि शिक्षाको क्षेत्रमा प्रगति भइरहेको थियो’ उनले भने–‘२०६२/०६३ को परिवर्तन पछि बिग्रिँदै गएको छ ।’

उनले सरकारको असहयोगका कारण किसान स्वावलम्बी र आत्मनिर्भर हुन नसकेको बताए । उनले किसानलाई सहयोग गर्ने कुरामा सरकारले उदासीनता देखाएको आरोप लगाए ।

‘छिमेकी मुलुक चीन र भारतले किसानलाई ठुलो सहुलियत दिने गरेको छ’ उनले भने–‘हाम्रो सरकारले दिँदैन किसान उनीहरूको उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनन्।’

उनले कृषि विषय अध्ययन गरेका विद्यार्थीहरूलाई विदेश जाने मानसिकता त्यागेर कृषि क्षेत्रको विकासमा जुट्न आग्रह गरे । उनले युवापुस्ताले मात्रै कृषि क्षेत्रलाई परिवर्तन गर्न सक्ने भन्दै दक्ष जनशक्ति बिदेसिनु मुलुकका लागि दुर्भाग्य भएको बताए ।

नेविसंघ इकाई कमिटीले आयोजना गरेको कार्यक्रम मानव आगन्तुक विद्यार्थीलाई स्वागत र तेस्रो ब्याच विद्यार्थीलाई बिदाइ गरिएको छ।विद्यार्थीको स्वागत र बिदाइ कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका छन् । 

प्रकाशित: ७ भाद्र २०८१ १८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App