२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ठूला दलका नेताहरूकै कारण देशमा राजनीतिक अस्थिरताः गच्छदार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ठूला दलका नेताहरूकै कारण देशमा राजनीतिक अस्थिरता भएको बताएका छन्।

विराटनगरमा पत्रकारहरूसँग शुक्रवार कुराकानी गर्दै नेता गच्छदारले राजनीतिक अस्थिरता ठूला दलका नेताहरूले नै  सृजना गरेकाले  र ठूला दलका नेताहरूले नै समाधान गर्नुपर्ने धारणा राखे।

नेता गच्छदारले भने, ‘राजनीतिक अस्थिरता ठूला दलका नेताहरूले सृजना गरेको समस्या हो। यो समस्या ठूला दलका नेताहरूले नै समाधान गर्नुपर्छ ।’  

नेपालमा पछिल्लो राजनीतिक परिवर्तन भएको १९ वर्ष वितिसक्दासमेत राजनीतिक स्थितरता नहुनु देशका लागि विडम्बना भएको गच्छदारले बताए। गच्छदारले पछिल्लो कांग्रेस र एमालेको समिकरण राजनीतिक अस्थिरता अन्त्य गर्ने राम्रो कदम भएको टिप्पणी गरे।

उनले भने, ‘कांग्रेस एमालेको गठबन्धन राजनीतिक अस्थिरता अन्त्य गर्ने राम्रो कदम हो। नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको राजनीतिक स्थायित्वका लागि गठबन्धनलाई चुनाबसम्म निरन्तरता दिनुपर्दछ।’ 

गच्छदारले राजनीतिक अस्थिरताले भुकम्प र कोरोना महामारीको भन्दा आर्थिक रुपमा देशलाई ठूलो क्षति पु¥याएको बताए।  

राजनीतिक स्थिरता कायम भए देशले आर्थिक रुपमा कायापलट गर्ने दाबी गर्दै उनले संविधान संसोधन आवश्यक रहेको उल्लेख गरे।

उनले समय सापेक्ष रुपमा संविधानलाई संसोधन गर्नुपर्छ धारणा समेत राखे।

अब, राजा फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पार्दै उनले भने, ‘लोकतन्त्र र गणतन्त्र भन्दा राम्रो व्यवस्था अरु हुनै सक्दैन त्यसैले अब, नेपालको राजनीतिमा राजा फर्कने संभावना छैन।’

गच्छदारले नेपाली कांग्रेसको १५ औं महाअधिवेशन आउने अझै धेरै समय बाँकी रहेका कारण अहिले नै आफूले कुन पदमा उम्मेदवारी दिने भन्ने निर्णय गरिनसकेको स्पष्ट पारे। 

प्रकाशित: ७ भाद्र २०८१ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App