२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

केही फरक गरिरहेका जनप्रतिनिधि

राज्यको सेवासुविधा लिनेप्रति नागरिकको दृष्टिकोण फरक छ, चाहे त्यो कर्मचारी होस्, चाहे जनप्रतिनिधि वा अन्य कोही होस्। राज्यले दिइरहेको सेवासुविधा लिएको, स्रोतसाधन दुरूपयोग गरेको तर जनताप्रति उत्तरदायी नभएको भनेर यी निकायप्रति आम नागरिक सन्तुष्ट छैनन्।

झट्ट हेर्दा त्यस्तो देखिन्छ पनि। ग्रामीण क्षेत्रका नागरिकले सडकदेखि खानेपानी, विद्युत्देखि स्वास्थोपचारमा संघर्ष नै गर्नुपर्ने अवस्था छ। यसै त भौगोलिक बनावटले विकासमा वाधा पुगिरहेको छ भने त्यसमाथि जनप्रतिनिधि तथा कर्मचारीको उदेकलाग्दो व्यवहारले नागरिक निराश छन्।

तर ‘सबै सकियो, सबै खत्तम, सबै खराब’ भनेर सबैलाई एउटै डालोमा मिसाउनु न्यायोचित हुँदैन। राष्ट्रसेवक कर्मचारी र जनताबाट निर्वाचित प्रतिनिधि कसरी राम्रो बनाउन सकिन्छ? कसरी फरक गर्न सकिन्छ? भनेर दत्तचित्त भई लागिपरेको देखिन्छ।

आफ्नो दैनिक समय जनताका समस्या समाधानमा केन्द्रित गर्ने मात्र हाइन, आफूले पाउने सेवासुविधा पनि जनताकै सेवामा खर्चने जनप्रतिनिधि पनि छन्।वडाका नागरिकको विद्युत् महसुल तिरिदिने वडाध्यक्ष मालारानी गाउँपालिका– ९, गोखुंगाका वडाध्यक्ष महेन्द्रबाबु खनालले वडाभित्रका ९५ प्रतिशत घरधुरीको न्यूनतम विद्युत् महसुल तिर्दै आएका छन्।

वडामा रहेका सात सय २० घरधुरी र १० वटा संघसंस्थाको वार्षिक तीन लाख एक हजार रूपैयाँबराबरको विद्युत् महसुल आफूले पाउने सेवासुविधाबाट दिँदै आएको अध्यक्ष खनालको भनाइ छ।

वडाभित्र न्यूनतमभन्दा बढी विद्युत् खपत गर्ने पाँच प्रतिशतले मात्र आफैं विद्युत् महसुल बुझाउँदै आएका छन्। चुनावी नारामा पनि आफूले राज्यबाट पाउने सेवासुविधाबापतको रकम जनताको सेवामा खर्चने प्रतिबद्धता गरेबमोजिम यस्तो काम गरेको वडाध्यक्ष खनालले बताए।

‘मैले निर्वाचनमै सेवासुविधा जनताकै लागि खर्चने छु भनेर प्रतिबद्धता गरेको थिएँ, अध्यक्ष खनालले भने, ‘आफ्नो सेवासुविधाबाट विद्युत् महसुल तिर्ने गरेको छु।’

आफूले तलब दिने गरी शिक्षक नियुक्ति गर्ने वडाध्यक्ष सन्धिखर्क नगरपालिका– १०, धरमपानीका वडाध्यक्ष मोहनसिंह ठकुरीले आफूले पाउने पारिश्रमिकबाट तलब दिने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्ति गरेका छन्। तल्लो कक्षामा अंग्रेजी विषय पढाउन १२ हजार रूपैयाँ तलब पाउने गरी धरमपानीमा रहेको आदर्श आधारभूत विद्यालय र वडा १० कै अरनिको आधारभूत विद्यालयमा एकएकजना शिक्षक नियुक्त गरेको अध्यक्ष ठकुरीले जानकारी दिए।

‘शिक्षाको गुणस्तर निकै फितलो छ’, उनले भने, ‘भएका विषयलाई सुधार गर्दै लैजान्छौं, अभाव भएका ठाँउमा शिक्षक नियुक्ति गरेको छु।’ शिक्षा क्षेत्रमा विशेष जोड दिएका ठकुरीले वडामा रहेका सबै स्कुलमा अध्ययनरत कक्षा १ का विद्यार्थीका लागि आफ्नो पारिश्रमिकबाटै किताब, कापी, पेन्सिलजस्ता शैक्षिक सामग्री हस्तान्तरण गर्दै आएका छन्।

अतिरिक्त कक्षा पढाउँदै वडाध्यक्ष पाणिनी गाउँपालिका– ६ धातिवाङका वडाध्यक्षको दैनिकी भिन्नै किसिमको छ। दिनभर सेवाग्राहीका काम गर्न वडामा व्यस्त हुने वडाध्यक्ष कृष्णप्रसाद पौडेल बिहान विद्यार्थीसँग रमाउँछन्। वडामा रहेको एउटा विद्यालयमा एसइई नतिजा सोचेअनुसारको नआएपछि वडाध्यक्ष पौडेलले गणित विषयका अतिरिक्त कक्षा पढाउँदै आएका छन्।

वडामा निर्वाचित भएर आएसँगै दुई वर्षयता धातिवाङ माविका विद्यार्थीलाई निःशुल्क अतिरिक्त कक्षा पढाएका थिए। ‘यस वर्ष पनि विद्यार्थीलाई ग्रेड वृद्धिमा टेवा पुगोस् भनेर अतिरिक्त कक्षा चलाएको छु’, उनले भने, ‘विद्यार्थीहरू बिहाज ६ बजे नै अतिरिक्त कक्षा पढ्न आउँछन्।’

३० वर्षीय युवा अध्यक्ष पौडेल स्नातकोत्तर तहमा गणित विषय उत्तीर्ण वडाध्यक्ष हुन्। उनले गत वर्ष वडाभित्रका ज्येष्ठ नागरिकलाई स्वर्गद्वारी दर्शन गराएका थिए।

यी जनप्रतिनिधिजस्तै जिल्लाका अन्य केही प्रतिनिधि पनि चर्चित छन्। आफ्नो सादगीपन र समर्पणले उनीहरू जनतामाझ लोकप्रिय छन्। सन्धिखर्क– १२ का वडाध्यक्ष नारायण खड्काले वडाभित्रका ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा च्यवनप्रास, हर्लिक्स आदि वितरण गर्दै आएका छन्। सेवासुविधाबाट प्राप्त पैसा उनले त्यता खर्चने गरेका हुन्।

प्रकाशित: ७ श्रावण २०८१ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App