१० भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको मन्त्री छनोट: प्रदीप र बद्री यसरी समेटिए, जीवन कसरी छुटे ?

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्‌मा समेटिएका नयाँ अनुहारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रवेशलाई धेरैले चासोसाथ हेरेका छन्।

नेपाली कांग्रेसभित्र विद्यार्थी राजनीति गर्दै उदाएका यी दुई नेता पछिल्लो पुस्तामा आशा गरिएका नेतामध्ये पर्छन्। महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माजस्तै अन्तर्संघर्ष गर्दै अघि बढ्ने क्रममा रहेका पौडेल र पाण्डे कांग्रेसको १३ औं महाधिवेशनमा पदाधिकारीका प्रत्याशी थिए।

पौडेल सभापति शेरबहादुर देउवाको प्यानलमा महामन्त्रीको उम्मेदवार रहेर पराजित हुँदा पाण्डे भने पिछडिएको क्षेत्रको कोटाबाट सहमहामन्त्री जितेका पात्र हुन्।

त्यतिबेला पौडेल कृष्णप्रसाद सिटौलाको गुटबाट देउवा प्यानलमा प्रवेश गरेका थिए। दुवै जनाले यतिबेला ओली सरकारमा प्रभावशाली मन्त्रालय पाएका छन्। तर, उनीहरूलाई यसपटक मन्त्री बन्न परेको सकस भने कम्ती नभएको कांग्रेस वृत्त बताउँछ। त्यसभित्रको अन्तर्कथा रोचक छ।

पौडेललाई बनाउन ‘गगन अडान’

०७९ मंसिरको चुनावपछि संसदीय दलको नेतामा सभापति देउवासँग महामन्त्री थापा भिडेका थिए। सुरुमा इतर समूहबाट सभापति लडेका नेता शेखर कोइराला भिड्न चाहन्थे। महामन्त्री थापाको अडानसामू उनी नतमस्तक भए, अन्ततः थापा नै प्रतिस्पर्धामा ओर्लिए।

यस्तोमा काठमाडौं–५ मा निर्वाचित भएका युवा नेता पौडेलले सभापति देउवालाई साथ नदिएर महामन्त्री थापालाई भोट हाले। त्यतिन्जेल पौडेल पूर्वमहामन्त्री सिटौलाको गुटमा थिए। सोही गुटबाट सभापति देउवाको प्यानलमा सहभागी हुँदै महामन्त्रीमा निर्वाचन लडेका थिए।

पौडेलको यो निर्णयबाट सिटौलाले चित्त दुखाएको कांग्रेस स्रोत बताउँछ। स्रोतकै अनुसार उता आफ्नै प्यानलमा महामन्त्री लडेको व्यक्तिले असहयोग गरेपछि सभापति देउवा खुसी थिएनन्। यसकारण पौडेललाई मन्त्री बनाउनेमा देउवा र सिटौला त्यति नरम थिएनन्।

अघिल्लो पटक नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वको सरकारमा पनि पौडेलको मन्त्रीमा चर्चा थियो। देउवा र सिटौलाकै अनिच्छाले त्यतिबेला सम्भव नभएको स्रोत बताउँछ।

यसपटक महामन्त्री थापाले संसदीय दलको नेतामा आफूलाई साथ दिएका पौडेललाई मन्त्री बनाउन एक सूत्रीय दाबी लिए।

‘महामन्त्रीले नै भनेपछि सभापति (देउवा) ज्युले रोक्न धेरै अडान लिनुभएन। आफ्नो गुटबाट नाम लिएर आउन भन्नुभयो,’ कांग्रेस स्रोतले भन्यो, ‘यता इतर समूहभित्र पनि गगन दाइले आफ्नोबाट एकमात्र नाम प्रदीप दाईकै लिनुभयो।’

सभापति देउवाले इतर समूहमध्ये गगन–शेखर समूहलाई तीन मन्त्रालय छुट्याएका थिए। तीनमध्ये एकमा पौडेल पठाउन महामन्त्री थापाले अडान लिए। त्यसपछि पौडेलको स्वास्थ्यमन्त्री बन्ने बाटो खुल्यो।

परियार र थानीको चर्चा पाण्डेको ‘इन्ट्री’ सभापति देउवालाई गगन–शेखर पक्षलाई तीन मन्त्रालय छुट्ट्याउँदा तीनमध्ये दुई जनाको नाम लगभग पक्कापक्की थियो। जसमा महामन्त्री थापाले पौडेललाई समेट्दा कोइरालाले धादिङका पुराना कांग्रेस नेता रामनाथ अधिकारी अधिकारीलाई पहिलो रोजाइमा राखे। अधिकारीले कृषि मन्त्रालय पाएका छन्।

त्यसपछि अर्को एक मन्त्रीमा सहमहामन्त्री जीवन परियारको चर्चा कांग्रेस वृत्तमा थियो। दलित समुदायबाट प्रतिनिधित्व गर्ने पदाधिकारी भएकाले सुरुदेखि नै परियारले यसपटक मन्त्री पाउने धेरैले लख काटेका थिए।

सभापति देउवा पनि इतर समूहबाट परियार समेटिने भन्दै पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरू समावेशी हुनेमा विश्वस्त रहेको उनीनिकट स्रोत बताउँछ। तर, कोइरालाको छनोटमा परे, सुर्खेतका अनुभवी नेता हृदयराम थानी।

संस्थापनको कर्णाली प्रदेश मोर्चा सम्हालेका उपसभापति पूर्णबहादुर खड्काका प्रादेशिक प्रतिद्वन्द्वीका टक्कर दिने इतर पक्षका नेता थानीलाई कोइरालाले मन्त्री बनाउन चाहेका थिए। जसअनुसार कोइरालाले सभापति देउवालाई मन्त्रीको नाम फाइनल गरेर बुझाउने तरखरमा थिए।

जसको सूचना सञ्चारमाध्यममा सार्वजनिक भइसकेको थियो। त्यसैबेला कोइराला र महामन्त्री थापासहित इतर पक्षबाटै जितेका उपसभापति धनराज गुरुङसमेत छलफल हुनपुग्यो। छलफलमा महामन्त्री थापाले आफ्नो समूहबाट एकजना पदाधिकारी मन्त्री हुनुपर्ने राय प्रस्तुत गरे।

इतर पक्षबाट कांग्रेसको पदाधिकारीमा उपसभापति गुरुङ, महामन्त्री थापा, सहमहामन्त्री द्वय पाण्डे र परियार छन्। ‘गगन दाइले म सरकारमा जान्न, उपसभापति अघिल्लो पटक सरकारमा गइसक्नुभयो। अब टिमकै लागि पनि दुई जना सहमहामन्त्रीमध्ये एकलाई सरकारमा पठाउनैपर्छ भन्ने राय राख्नुभयो,’ एकजना कांग्रेस नेताले भने, ‘उहाँको रायमा धनराज दाइले पनि सहमति जनाउनुभयो।’

ती नेताका अनुसार परियारको नाम कोइरालाले अगाडि नै रिजेक्ट गरिसकेका थिए। त्यसपछि परियारले नै ‘म र बद्री पाण्डे दाईमध्ये जसलाई पठाए नि हुन्छ’ भन्ने सन्देश दिएका रहेछन्।

महामन्त्री थापा र उपसभापति गुरुङको एउटै राय आएपछि कोइरालाले नाई भन्न सकेनन्। ‘शेखर डाक्टरसाबले नै त्यसपछि बद्रीदाई नै मन्त्री बनाउने निर्णय लिनुभयो,’ ती नेता भन्छन्।

जसअनुसार बाजुराबाट प्रतिनिधिसभामा निर्वाचित नेता पाण्डे पर्यटनमन्त्री बनेका छन्। इतर समूहकै एक नेताका अनुसार यो तिकडमका बीच परियार मन्त्री बन्न सकेनन्।

जसले ओली नेतृत्वको सरकारमा दलित प्रतिनिधित्व हुने ढोका बन्द भयो। जसको कांग्रेसभित्र चर्को आलोचना भइरहेको छ भने सार्वजनिक वृत्तमा पनि टीकाटिप्पणी भइरहेको छ।

कांग्रेसभित्रै पनि केन्द्रीय नेताहरूले खुलेर नेतृत्वको आलोचना गरिरहेका छन्। केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले त फेसबुकमै असन्तुष्टि जनाएका छन्। उनले लेखेका छन्, ‘दलित समुदायले के यो सरकार हाम्रो पनि होइन र ? भनेमा जवाफ के दिने होला ?’

प्रकाशित: १ श्रावण २०८१ २१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App