२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

आर्चाय कृष्ण दमाईलाई धनगढीमा सम्मान

बाजागाजा सहित सम्मान, रोजगारी पनि दिने

आर्थिक रुपमा विपन्न दलित परिवारमा जन्मेर संस्कृत विषयमा आचार्य (स्नातकोत्तर) गर्न सफल भएका आचार्य कृष्ण दमाईलाई धनगढी उपमहानगरपालिकाले शनिबार बाजागाजा सहित भव्य रुपमा सम्मान गरेको छ।

धनगढी उपमहानगरको परिसरमा उनलाई बाजागाजा सहित सम्मान गरिएको हो। नगर सभा हलमा आयोजित समारोहमा उनलाई फुलमाला, सम्मान पत्र र नगद १ लाख ५१ हजार सहित नगर प्रमुख गोपाल हमालले सम्मान गरे।

सुदूरपश्चिम प्रदेशमै जन्मेको दमाईको छोरोले कर्मले मान्छे महान् हुन्छ भन्ने सन्देश दिन सफल भएकोमा खुसी लागेको उनले सुनाए। ‘जातले कोही उचो निचो हुँदैन, कर्म अनुसार मान्छेको मान, सम्मान र हैसियत बन्ने हो’ नगर प्रमुख हमालले भने, ‘आज सुदूरपश्चिमको दमाईको छोरोले संस्कृतबाट आचार्य पास गरेर संसारलाई कर्म अनुसार पहिचान बन्छ, भनेर सन्देश दिन सफल भएको छ।’

भागवत् महायज्ञ लगाएर आचार्य कृष्णलाई भूमिका दिने सोच बनाइरहेकोमा उनको आर्थिक अवस्था अत्यन्त कमजोर भएको सुनेपछि नगद सहित सम्मान प्रदान गरेको प्रमुख हमालले बताए।

उनको आर्थिक विपन्नतालाई ध्यानमा राखेर धनगढी उपमहानगले उनलाई रोजगारी समेत दिने भएको छ। कृष्णले चाहेको बेला रोजगारी दिने उनले घोषणा गरेका छन्।

धनगढी उपमहानगरमा उनले जातीय विभेद अन्त्य गर्न र सामाजिक रूपान्तरणमा मार्ग दर्शकको रुपमा काम गर्न सक्ने हमालले बताए।

संस्कृतमा आचार्य पास गरेर दलितको छोरो पण्डित बन्नुले जातीय विभेद अन्त्य गरि सामाजिक रूपान्तरण गर्नमा यो एउटा क्रान्ति नै भएको स्थानीयले बताएका छन्।

‘जातले कोही सानो ठूलो हुने नभई कर्म अनुसार समाजमा उसको स्थान र सम्मान हुने हो भन्ने कुरा कृष्णले पाइरहेको सम्मानबाट प्रष्ट भएको छ’ स्थानीय चक्र नेपालीले भने, ‘जातीय विभेद अन्त्यमा यो एउटा क्रान्ति हो।’

सम्मान प्राप्तपछि आचार्य दमाईले जातीय रुपमा एकताबद्ध भएर हिन्दु सनातनीको संरक्षण गर्नुपर्ने बताए। संस्कृत भाषा पढेर सबैलाई वेद पढ्नुपर्नेमा उनले जोड दिए।

संस्कृतमा आचार्य पास गरेपछि सुदूरपश्चिममा पहिलो पटक धनगढी उपमहानगरले सम्मान गरेकोमा उनले धन्यवाद दिँदै कर्मकाण्ड गर्न र थप अध्ययन गर्न हौसला प्रदान भएको सुनाए।

दलितको छोरो पहिलो पटक संस्कृतबाट आचार्य पास गरेर जातीय विभेदमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गर्ने धनगढी नगरपालिका पहिलो हो।

भीमदत्त नगरपालिका वडा नं-३ बस्ने कृष्णको यस अघि पशुपति नाथ मन्दिर परिसरको बनकालीमा आयोजित कोटीहोममा प्रवचन गरेपछि चर्चा चुलिएको थियो। कृष्ण अत्यन्त विपन्न परिवारमा जन्मिएका थिए। परिवारमा उनी सहित ९ भाइ बहिनी, आमा र बुबा थिए।

लुगा सिलाएर ६/६ महिनामा पाइने ‘खलो’ (ज्याल बापतको खाद्यान) ल्याएर परिवारमा गुजारा चलाउनु पर्ने बाध्यता थियो।

बैजनाथ माध्यमिक विद्यालयबाट एस.एल.सी उत्तीर्ण गरेपछि उच्च शिक्षा पढ्न पैसा नभएकाले छात्रवृत्तिमा उनले संस्कृत पढ्न सुरु गरेका थिए।

शारदा विद्या पिठबाट तीन बर्से शास्त्री तहको उत्तीर्ण गरेपछि कृष्णले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका हुन।

प्रकाशित: ८ भाद्र २०८१ १६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App