२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेकपा एसमा नेपाल नै किन?

नेकपा एकीकृत समाजवादी (नेकपा एस) निर्माणमा फेरि माधव नेपालको नेतृत्व निर्विल्प स्वीकार गरिएको छ। एमालेबाट विभाजन भएको दुई वर्ष १० महिनापछि भएको महाधिवेशनले पार्टी निर्माणका लागि भन्दै अध्यक्ष पदमा नेपाललाई सर्वसम्मत चुनेको छ। असार १६ देखि २० गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा भएको महाधिवेशनले अन्तिम दिन नेपाललाई निर्विकल्प नेताका रूपमा अध्यक्ष स्वीकार गरेको हो। यसअघि पनि उनी अध्यक्ष थिए।

कम्युनिस्ट आन्दोलनमा लागेको ५५ वर्षमा पनि उत्तिकै जोस र जागरका साथ नयाँ पार्टी निर्माणमा लागेका नेपाललाई अध्यक्षमा सर्वसम्मत बनाउन महाधिवेशनमा आएका ८० प्रतिशतभन्दा बढी प्रतिनिधिको हात छ। पार्टी निर्माणको चरणमा रहेको र एमालेबाट विद्रोह गरी नयाँ पार्टी स्थापनाको औचित्य नेपालबाहेक अरू नेताले पुष्टि गर्न नसक्ने निष्कर्षसहित उनलाई सर्वसम्मत अध्यक्ष बनाउन महाधिवेशन प्रतिनिधिहरूले शीर्ष नेताहरूलाई दबाबमूलक आग्रह गरेका थिए।

महाधिवेशन प्रतिनिधिहरूको चाहनाअनुसार बुधबार रातिदेखि बिहीबार दिनभर भएको छलफलपछि नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउँदै पुरानै टिमलाई दोहोर्‍याइएको हो। पार्टीका सम्मानित नेता झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले बिहीबार नेपाललाई अध्यक्ष र महासचिवमा घनश्याम भुसाललाई नै दोहोर्‍याउने घोषणा गरेपछि त्यसका सबैले समर्थन गरेका थिए। भुसालले यसअघि अध्यक्षमा दाबी गर्दै आएका थिए। महाधिवेशनले खनाललाई पनि सम्मानित नेता चयन गरेको छ। सहमतिमा नेतृत्व चयन भएपछि महाधिवेशन प्रतिनिधि पनि उत्साहित भएका छन्।

स्वच्छ छवि, नैतिकवान् र इमानदार कम्युनिस्ट नेता–कार्यकर्ताको खडेरी पर्न थालेको पछिल्लो अवस्थामा नेकपा एसमा आबद्ध नेता–कार्यकर्तालाई व्यवस्थापन र पार्टी निर्माण गर्ने चुनौती फेरि अध्यक्ष नेपालको काँधमा आएको छ। कम्युनिस्ट पार्टीका जुनसुकै नेता सत्तामा पुगे पनि भ्रष्टाचारमा डुबेका छन् भन्ने भाष्य चिर्न अध्यक्ष नेपालको नेतृत्व सबल हुनेमा महाधिवेशन प्रतिनिधि आशावादी छन्।

महाधिवेशन प्रतिनिधिका अनुसार विद्रोहको औचित्य पुष्टि गर्न सबैभन्दा पहिला पार्टीभित्र शुद्धीकरण अभियानलाई तीव्रता दिनुपर्ने, अवसरवादीको झुन्डले पार्टी र देश विकास गर्न नसक्ने तथ्य स्थापित गर्नुपर्ने, समाजवादी कार्यदिशा र कार्यक्रम ल्याउनुपर्ने र पार्टीलाई गतिशील तथा मजबुत बनाउन नेपाल नेतृत्वको टिम सफल हुनेछ। नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र रूपान्तरण गर्ने, दक्षिणपन्थी यथास्थितिवादबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्दै समाजवादको दिशामा अघि बढाउने, प्रगतिशील शक्तिहरूलाई गोलबद्ध गरी कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने जिम्मेवारी पनि नेपालको काँधमा आएको महाधिवेशन प्रतिधिधिहरूले बताएका छन्।

महाधिवेशनमा विद्रोहको आवश्यकता र एमालेमै रहन गरिएका प्रयासको समीक्षा, विद्रोह गर्दा नै अवलम्बन गरिएको समाजवादी लक्ष्य, कार्यदिशा र नीतिबारेमा व्यापक छलफल भएको छ।

२०६४ सालमा मुलुकमा भएको संविधानसभा सदस्य निर्वाचनमा एमाले पराजित भएपछि त्यसको जिम्मेवारी लिँदै तत्कालीन महासचिव नेपालले पदबाट राजीनामा दिएका थिए। अहिले ७२ वर्षीय नेपाल एमालेबाट विद्रोह गरी स्थापना गरिएको नेकपा एस निर्माणमा लागिपरेका छन्।

तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। उनी २०२८ सालमा संगठन विस्तारका लागि काठमाडौं आएका थिए। २०५० साल जेठ ३ गते एमाले महासचिव भएका उनी लगातार १५ वर्षसम्म यो जिम्मेवारीमा रहे। उनी कुशल संगठक पनि हुन्। विगतमा एमाले निर्माणको अनभुव नेपालले नेकपा एस निर्माणमा लगाउन सक्छन्। २०४७ सालको संविधान मस्यौदा समितिको सदस्यसमेत रहेका नेपाल एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जिप दुर्घटनामा मृत्यु भएपछि महासचिवको जिम्मेवारीमा पुगेका हुन्। एमाले महासचिव हुँदा तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने भूमिका पनि उनले निर्वाह गरेका थिए। २०६२/६३ सालको आन्दोलनको नेतृत्वसमेत गरेका नेपालले मुलुकमा गणतन्त्र स्थापनामा पनि महŒपूर्ण भूमिका निर्वाह गरेका छन्।

नेपाल सन् १९९३ मा एमाले विदेश मामिला विभागको प्रमुख थिए। उनी सन् १९९० मा संयुक्त वाम मोर्चाको सदस्य र सन् १९९१ मा एमाले केन्द्रीय संगठन समितिको पोलिटब्युरो सदस्य भएका थिए। सन् १९७८ मा उनी नेकपा (माले) को संस्थापक सदस्य र पोलिटब्युरो सदस्य बनेका थिए। सन् १९७६ मा राजकाज अपराध ऐनअन्तर्गत उनी दुई वर्ष जेल बसेका थिए। उनी सन् १९७५ मा समन्वय केन्द्रको संस्थापक सदस्य, १९७१–७४ मा नेपाल क्रान्तिकारी संगठन (माले) मोरङको जिल्ला सदस्य भएका थिए।

प्रकाशित: २१ असार २०८१ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App