२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

चिनियाँ दूतावासको स्पष्टीकरण : घुस दिएर नेपाली राजनीतिज्ञविरुद्ध रिपोर्ट बनाउन खोजेको हल्ला अफवाह मात्रै हो

चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञका विरुद्ध नकारात्मक रिपोर्ट बनाउन पत्रकारहरूलाई घुस दिन खोजेको भनी फैलिएको हल्लाप्रति नेपालस्थित चिनियाँ दूतावासले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दूतावासका प्रवक्ताले एक प्रेस टिप्पणी जारी गर्दै उक्त हल्लाहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका हुन्।

हल्लाको सत्यता र दूतावासको धारणाबारे सोधिएको प्रश्नको उत्तर दिँदै प्रवक्ताले भनेका छन्, ‘तपाईंले उल्लेख गर्नुभएको हल्लाहरू सुनेर चिनियाँ पक्ष गहिरो रूपमा स्तब्ध भएको छ र स्पष्ट रूपमा त्यसलाई अस्वीकार गर्दछ। हामी चीनको जानाजानी बदनाम गर्ने यस्ता कार्यहरूको कडा शब्दमा निन्दा गर्छौं।’

चीनले सधैं अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै आएको उनले स्पष्ट पारेका छन्। चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रयासहरूलाई निरन्तर र दृढतापूर्वक समर्थन गर्दै आएको र नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास एवं जनताको जीविकोपार्जनमा सुधारलाई सक्रिय रूपमा सहयोग गरिरहेको दूतावासको भनाइ रहेको छ। 

प्रवक्ताले सामाजिक सञ्जालमा फैलिएको यो हल्लाको गम्भीरतापूर्वक छानबिन गर्न नेपाल सरकारसँग माग पनि गरेका छन्। उनले भनेका छन्, ‘हामी सम्बन्धित नेपाली अधिकारीहरूलाई तपाईंले उल्लेख गर्नुभएको हल्लाहरूको गम्भीर, गहन र पूर्ण अनुसन्धान गर्न र त्यसमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरू साथै पछाडि रहेकाहरूलाई नेपाली कानून अनुसार कडा सजाय दिन आग्रह गर्दछौं। हामी हाम्रा दुई देशको साझा हितको रक्षा गर्न नेपाली पक्षसँग कानून प्रवर्तन र सुरक्षा सहयोगलाई सुदृढ पार्न तयार छौं।’

तर्क र बुद्धिले अफवाहहरूको अन्त्य गर्नुपर्नेमा जोड दिँदै चिनियाँ पक्षले सबै नेपालीहरूले सही र गलत छुट्याउने विश्वास व्यक्त गरेको छ। साथै, चीन र नेपाल बीचको परम्परागत मित्रता र सहयोगलाई प्रवर्द्धन गर्न सँगै मिलेर काम गर्ने प्रतिबद्धता समेत दूतावासले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०८३ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App