अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका स्थानीय पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिने गर्ने निर्णय गरेका हुन्।
भीमदत्त नगरपालिकाले जेठ ११ देखि १३ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिएको छ। नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्नसक्ने भएकाले बिदा दिने निर्णय गरिएको छ। उनका अनुसार उक्त बिदा गर्मी बिदाबाट कट्टा हुनेछ।
त्यसैगरी कृष्णपुर नगरपालिकाले पनि आइतबारदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ।
नगर प्रमुख हेमराज ओझाले अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन प्रभावित हुन थालेपछि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर बिदा दिइएको बताए।
यस्तै शुक्लाफाँटा नगरपालिकाले पनि गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल गरेर बिदा दिने विषयमा निर्णय गरिने जनाएको छ। नगरपालिका शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्ट ले मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको बताए।
गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षाकोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताएका छन्। 'धेरै विद्यालयका कक्षाकोठामा पङ्खा छैनन्, भएका केही पङ्खा पनि बिग्रिएका छन्, जसले पठनपाठन सञ्चालन गर्न समस्या भएको छ, टिनको छाना भएका कक्षाकोठामा बसी नसक्नु छ,' एक शिक्षकले गुनासो गरे। हाल कञ्चनपुर र कैलाली जिल्लामा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ।
प्रकाशित: ११ जेष्ठ २०८३ ०६:४५ सोमबार





