९ मंसिर २०८३ बुधबार
image/svg+xml
राजनीति

‘फ्लाइट मोड’ प्रकरणमा माफी माग्दै माजिदले भने : जायज प्रश्नलाई ‘डाइभर्ट’ गर्न पाइँदैन

जेनजी अभियन्ता माजिद अन्सारीले फ्लाइट मोडमा वाइफाइ चल्दैन भनेर दिएको अभिव्यक्तिप्रति माफी माग्दै आफूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्।

मंगलबार भिडियो सार्वजनिक गर्दै उनले आफ्नो अभिव्यक्तिका कारण धेरैको आशा र विश्वासमा धक्का पुगेको भन्दै माफी मागेका हुन्।

‘मैले भुलवश दिएको एउटा अभिव्यक्तिका कारण धेरै जनाको मप्रतिको आशा र विश्वासमा धक्का पुगेको छ। यो अभिव्यक्तिका कारण कसैको चित्त दुखेको छ र मप्रतिको आशा तथा विश्वासमा धक्का पुगेको छ भने म माफी माग्न चाहन्छु’, उनले भनेका छन्।

तर, आफ्नो अभिव्यक्तिका कारण आफूले उठाएका मूल प्रश्न ओझेलमा पार्न नहुने उनको भनाइ छ।

‘मेरो त्यो अभिव्यक्तिले धेरै जनाको चित्त दुखेको छ, धेरै जनाको विश्वास डगमगाएको छ। त्यसका लागि म माफी चाहन्छु। तर, मैले त्यहाँ उठाएका जायज प्रश्नलाई डाइभर्ट गर्न पाइँदैन। ती प्रश्नको जवाफ दिनुपर्छ’, उनले भनेका छन्।

अन्सारीले आफूले यसअघि सार्वजनिक गरेको भिडियोमा फ्लाइट मोड र वाइफाइबारे मात्रै नभई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन र इनम सापकोटासँग जोडिएको ह्वाट्सएप च्याटको स्क्रिनसटबारे पनि प्रश्न उठाएको बताएका छन्।

भारत भ्रमणका कारण यस विषयमा तत्काल प्रतिक्रिया नदिएको र भ्रमण सकिएपछि आफ्नो धारणा सार्वजनिक गरेको उनले बताएका छन्।

अन्सारीले स्क्रिनसटमा देखिएको मिति, इनम सापकोटा पक्राउ पर्नुअघि कुमार बेनले उनलाई सन्देश पठाएको भनिएको विषय र अनुसन्धानका क्रममा रहेको सापकोटाको मोबाइल बेनको घरमा पुगेको विवरणबारे प्रश्न उठाएका छन्।

उनले मोबाइल कसरी बेनको घरमा पुग्यो, त्यसमा रहेका सन्देश मेटिएको हो वा होइन र डिजिटल फरेन्सिक परीक्षणमा के देखिएको छ भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन्।

साथै, कुमार बेनमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्ने र यस विषयमा संसदीय छानबिन गर्नुपर्ने माग पनि उनले गरेका छन्।

प्रकाशित: ९ मंसिर २०८३ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App