१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद्‌मा कंसाकारको गलत तथ्य र तथ्याङ्क प्रस्तुत

सोमबारको संसद् बैठकमा बोल्दै सांसद विन्दबासिनी कंसाकार।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेकी मकवानपुरकी विन्दबासिनी कंसाकारले संसद्मा गलत तथ्य र तथ्याङ्क प्रस्तुत गरेकी छिन्।

सोमबार संसद्को विशेष समयमा जङ्गली च्याउका कारण मकवानपुरका सर्वसाधारणले ज्यान गुमाउनुपरेको विषय उठानसहित उनले सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

सो क्रममा उनले उठाएको विषय सही भए पनि प्रस्तुत गरेको विवरण भने झुटो रहेको थियो। जङ्गली च्याउ सेवन गरेका कारण कैलाश गाउँपालिका ९ नाम टारका ४ वर्षका दिपेश लामाको मृत्यु भएकोमा कंसाकारले मनहरी गाउँपालिकाका विनोद लामाका ४ वर्षीय छोरा निरमाया रुम्बा र बलबहादुरको मृत्यु भएको उल्लेख गरेकी छिन्।

विषालु च्याउ सेवनै कारण मृत्यु भएकी निरमाया विनोद लामाको छोरा होइनन् र उनी मनहरीको पनि होइनन् । निरमाया कैलाश ९ की महिला हुन् । कंसाकारले नाम उल्लेख गरेका बलबहादुरको ठेगाना राक्सिराङ गाउँपालिका ७ दुगुवाङ हो । प्रजा थरका उनको जङ्गली च्याउ सेवनका कारण ९ गते मृत्यु भएको थियो । मकवानपुरमा हालसम्म जङ्गली च्याउ सेवनका कारण ३ जनाको मृत्यु भैसकेको छ । सांसद कंसाकारले मृत्यु हुनेहरूको नाम थर र ठेगाना नै गलत उल्लेख गरेकी हुन् । 

‘मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा विनोद लामाका ४ वर्षीय छोरा निरमाया रुम्बा र बलबहादुरको विषालु च्याउ खाँदा निधन भएको छ । वहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु’, कंसाकारले संसद्मा भनेकी छिन्, ‘वर्षाको समयमा वनमा च्याउ उम्रिँदा मानिसहरूले यसलाई तरकारीको रुपमा प्रयोग गर्दा जोखिम बढ्दै गएको छ । मकवानपुरमा हालसम्म च्याउका कारण १६ जना बिरामी भएका छन्।

८ जना अझै अस्पतालमा उपचाररत छन् ।’ उनले स्थानीय तह, प्रशासन, स्वास्थ्य विभाग र प्रहरी प्रशासनले विषालु च्याउको पहिचान गरी सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्न अनुरोध समेत गरेकी थिइन्। न्यूनतम ज्ञानको अभावमा विषालु च्याउ सेवन गरेर ज्यान गुमाउनु दुखद कुरा भएको उल्लेख गर्दै उनले यो घटनाबाट पाठ सिकेर अरु ठाउँमा यस्ता घटना रोक्न सरकारलाई तत्कालै प्रभावकारी कमद चाल्न आग्रह समेत गरेकी थिइन् ।

संसद्मा उनले केही दिन पुरानो तथ्याङ्क प्रस्तुत गरेकी हुन्। जङ्गली च्याउ खाएर बिरामी भएकाको संख्या बढेको छ । संसद्मा बोल्ने विषयमा कुनै तयारी र सूचना नै नलिएर हतारोमा बोलेको भन्दै उनको आलोचना समेत भइरहेको छ। उनले सामाजिक सञ्जालमा शेयर गरेको पोष्टमा तथ्य र तथ्याङ्कमा कमी भएको सुझाव समेत दिएका छन्।

संविधानसभा सदस्य प्रल्हाद लामिछानेले संसद्मा सांसदले बोल्दा अध्ययन गरेर बोल्नुपर्ने सुझाव दिए। ‘त्यो स्तरको मानिसले त्यो ठाउँमा बोल्दा अध्ययन गरेर बोल्नुपर्छ। कुनै कार्यकर्ताले जङ्गली विषालु च्याउको विषय उठान गर्नुहोस् भनेर टिपाइदियो होला, नाम र ठाउँ अनि नाता नै गलत उल्लेख गर्नु र बोल्नु गलत हो’, लामिछानेले भने, ‘संसद् वा कुनै बैठकमा जाँदा सांसद तयारीसहित जानुपर्छ।विषयवस्तु नै नबुझी बोल्नुहुँदैन।’ संसद् जस्तो गरिमामय स्थानमा बोल्ने कुरा हचुवाको भरमा बोल्न नहुने भन्दै उनले गलत सूचना, तथ्य तथ्याङ्क उल्लेख गर्दा संसद्को गरिमा र सांसदको विश्वसनीयता गुम्ने उनको भनाई छ।

प्रकाशित: १७ असार २०८१ १९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App