१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

रोष्ट्रममा पुगेका मन्त्रीलाई प्रतिपक्षी सांसदहरुले हात समातेर झार्न खोजेपछि...

विगतमा भएका सहमति विपरित सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीच आइतवार संसदमै घम्साघम्सी भएको छ।

संसद सुचारु गर्ने विषयमा कार्य व्यवस्था परामर्श समितिको बैठक लम्बिँदा दिउँसो तीन बजेका लागि बोलाइएको बैठक साँझ साढे छ बजेपछि मात्रै सुरु भएको थियो।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरु उठेपछि सभामुख नन्दा गुरुङले एकजनालाई बोल्ने समय दिइन्। कांग्रेस सांसद एवं पूर्व आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रतिपक्षी दल कांग्रेस र राप्रपाले बजेटका सन्दर्भमा राखेका मागहरु पूरा नहुँदासम्म संसदको काम कारबाही अघि बढ्न नसक्ने बताए।

‘वार्षिक बजेटभित्र छुटेका, सुधार गर्नुपर्ने विषयहरु, विगतमा भएका सहमति कार्यान्वयन नहुँदासम्म संसदका काम कारवाही अघि बढ्दैन्,’ उनले भने, ‘जबरजस्ती गरिए त्यसको परिणामको जिम्मेवारी सरकारले लिनुपर्छ।’

सांसद सिंहले प्रतिपक्षीले उठाएका विषयहरु दस्तावेजीकरण गरेर संसद सुचारु गर्न आफूहरु तयार रहेपनि सरकार जवरजस्ती संसद बैठकलाई अघाडि बढाउन खोजेको आरोप लगाए।

प्रतिपक्षी दलहरुले व्यक्तिका नाम, निजी फर्म र कम्पनी तोकेर बजेट किताबमा आएका योजनाहरू कार्यान्वयन नगर्ने प्रतिवद्धता जनाउनुपर्ने, क्रमागत र बहुवर्षीय आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिनुपर्ने, विगतको अहिलेको सत्ता पक्ष प्रतिपक्षमा हुँदा गरिएका सहमति कार्यान्वयन हुनुपर्ने, केही स्थानीय तहहरूमा समपूरक, विशेष र सशर्त अनुदान नपुगेकाले ती स्थानीय तहलाई रकम पठाउनुपर्ने, एक जिल्ला एक नमुना विद्यालय, एक पालिका एक विद्यालय भवनलाई निरन्तरता दिनुपर्ने माग राखेका छन्।

सांसद सिंहले बोले लगत्तै सभामुख गुरुङले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्यवयको वार्षिक अनुमान बजेट माथि सामान्य छलफलको क्रममा माननीय सदस्यहरुबाट उठाइएका प्रश्नहरुका सम्वन्धमा आर्थिक मामिला तथा योजना मन्त्री माननीय महेन्द्र केसीलाई कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ३७ बमोजिम यपनियम ३ बमोजिम सभा समक्ष जवाफ दिन अनुमति दिइन्।

आर्थिक मामिला मन्त्री रोष्ट्रममा जाने बेला कांग्रेस सांसदहरु बेल घेराउ गर्न पुगे। मर्यादापालकले आर्थिक मामिला मन्त्रीलाई रोष्ट्रममा पुर्‍याउँदा केही बेर प्रतिपक्षी सांसद र आर्थिक मामिला मन्त्री केसीबीच घम्साघम्सी चल्यो। रोष्टममा पुग्नै लाग्दा कांग्रेस सांसदहरुले उनको हात समातेर बेलमा झार्न खोजेका थिए। मर्यादापालकले एकातर्फ केसीको हात तानेर रोष्ट्रममा लिँदै थिए भने कांग्रेस सांसदहरु उनको हात तानेर तल झार्ने प्रयास गरिरहेका थिए। मर्यादापालकको सहयोगमा रोष्ट्रममा पुगेका केसीले छोटो बोले। उनले अघिल्लो सदनमा माननीय सदस्यहरुले उठाएका जवाफको जवाफ दिएको बताउँदै छोरी खाताको बारेमा बजेटमा व्यवस्था भएको बताए।

त्यसपछि सभामुख गुरुङले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्यवयको वार्षिक अनुमान बजेट माथि सामान्य छलफल समाप्त भएको जानकारी गराइन्।

प्रकाशित: १७ असार २०८१ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App