१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘आधारभूत आवश्यकता पुरा गर्न बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ’

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन्।

राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासङ्घ नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘युथ लिडरसिप समिट–२०२४’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने जिकिर गरे।

मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरिएको जानकारी दिँदै उनले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको सुनाए।

राजनीतिक परिवर्तनपछाडि मुलुकले तीव्र आर्थिक फड्को मार्न नसकेको यथार्थ स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यसमा आलोचना गरौँ तर मुलुकको गौरवपूर्ण इतिहासप्रति गर्व गरौँ, सकारात्मक विषयलाई मनन गरौँ, समस्यालाई सच्याएर अगाडि बढौँ।’

उपप्रधानमन्त्री श्रेष्ठले जनताको सङ्घर्षको बलमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्नु वर्तमानमा सबैको आवश्यकता भएको उल्लेख गरे।

‘राजनीतिक प्रणालीलाई प्रजातान्त्रिक त बनायौँ, तर यसले सामाजिक आर्थिक रूपान्तरणका पक्षमा माध्यम र साधनको काम गर्नुपर्थ्यो, त्यसो हुन सकेको छैन’, उनले भने, ‘आर्थिक समृद्धिलाई तीव्र पारेर समृद्धिको मार्गमा पुर्‍याउनुपर्छ।’

प्रकाशित: ८ असार २०८१ १४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App